शुक्रबार, भाद्र २६ गते २०८३
images

ए डिभिजन लिग : टप स्कोररलाई ‘गोल्डेन बुट', विधागत पुरस्कार हटाइयाे

एक्सप्रेस पाना
कार्तिक १२, २०७८ शुक्रबार
  • 289
    SHARES
  • ए डिभिजन लिग : टप स्कोररलाई ‘गोल्डेन बुट', विधागत पुरस्कार हटाइयाे

    कात्तिक १२ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ४ महिनासम्म चल्ने सहिद स्मारक ए डिभिजन लिगको तालिका सार्वजनिक गरेको छ ।  

    images

    एन्फाले शुक्रबार आफ्नो मुख्यालयमा पत्रकार सम्मलेन गरेर २९ कात्तिकबाट १४ फागुनसम्म चल्ने ‘सिंगल राउण्ड रोबिन लिग’को तालिका सार्वजनिक गरेको हो । 

    प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर डर्बी हुनेछ । फ्रेण्ड्स क्लबले सातदोबाटो युथ क्लबको सामना गर्नेछ । एन्फाले लिगलाई यस पटक ‘फ्लड लाइट’ मा खेलाउने निर्णय लिएको छ । उद्घाटन खेल २९ कात्तिक साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ ।

    images

    पहिलो दिन एक मात्रै खेल हुनेछ । १४ क्लबको सहभागीता रहने यस लिगमा जम्मा ९१ खेल हुनेछन् । एन्फा यस पटक लिगलाई केही फरक ढंगले खेलाउने निर्णयसमेत गरेको छ । एन्फाले अन्तिम चार राउन्डका खेलहरू हप्तामा दुई दिनमात्र खेलाउने बताएको छ। जहाँ हप्ताको पहिलो दिन दुई मैदानमा चार खेल हुनेछ । यस्तै दोस्रो दिन  तीन खेल हुनेछ । 

    सुरुवाती चरणका खेलहरू एन्फा मैदान र दशरथ रंगशालामा खेलाउने तालिका सार्वजनिक गरेको एन्फाले त्यसपछिका चरणहरूमा च्यासल मैदानमा समेत खेल खेलाउने बताएको छ ।

    एन्फाले आठौं पटक कीर्तिमानी लिग च्याम्पियन मनाङ मर्स्याङ्दी (एमएमसी) ले पोखरामा ‘होम मैदान’ बनाएको अवस्थामा मोफसलमा समेत लिग लैजाने योजना ल्याएको छ । तर, त्यसको अन्तिम निर्णय हुन भने बाँकी छ । 

    यस पटक एन्फाले लिग विजेताको पुरस्कार राशिसमेत बढाएको छ । विजेताले ७५ लाख पाउँदा उपविजेताले ५० लाख पाउनेछन् । यस्तै तेस्रो हुने टोलीले २५ लाख पाउने लिग निर्देशक सञ्जिव मिश्रले बताए । 

    एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्व आएको वर्ष बिना रेलिगेशनको लिग हुँदा अन्तिम पटक एक टिम मात्र बी डिभिजनमा घटुवा, बढुवा भएको थियो । यस पटक भने पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् । 

    एन्फाले लिगको विधागत पुरस्कार दिने परम्परालाई नयाँ ढाँचामा लैजाँदै विगतका दिनमा दिने गरिएको विधागत तर्फको उत्कृष्ट पुरस्कारलाई रोकेर अन्तर्राष्ट्रिय पद्धतिमा लिगका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

    यसअघि एन्फाले लिगको विधागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई कुनै सिजनमा मोटरसाइकल त कुनै सिजनमा कारसमेत दिने गरेको थियो । 

    तर, यस पटक भने एन्फाले विधागत पुरस्कारलाई कटौती गर्दै अन्तर्राष्ट्रिय फुटबलको सिको गर्दै ‘टप स्कोरर’ लाई ‘गोल्डेन बुट’ , प्रतियोगितको ‘बेष्ट प्लेयर’ लाई ‘गोल्डेन बल’ र ‘बेष्ट किपर’लाई ‘गोल्डने ग्लब्स’ दिने निर्णय भएको एन्फा लिग निर्देशक सञ्जिव मिश्रले बताए । 

    यसअघि पूर्व अध्यक्ष गणेश थापाले लिगका उत्कृष्ट खेलाडीलाई ‘कार’ दिएका थिए । पछिल्लो समय लिगको विधागत उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँदै आएका थिए । 

    तर, प्रायोजकले अन्तिम समयमा एन्फालाई घोषित पुरस्कार नै दिन आनाकानी गर्न थालेपछि एन्फा नयाँ पद्धतीमा गएको हो । एन्फाले नयाँ पद्धतिसँगै अब लिगको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर र प्रशिक्षकले कुनै पनि पुरस्कार पाउने छैनन् । 

    लिगमा सहभागी क्लब 

    मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, न्यूरोड टिम एन आर टी, हिमालयन शेर्पा क्लब, ब्रीगेड ब्वाइज क्लब, फ्रेण्ड्स क्लब, एपीएफ फुटबल क्लब, च्यासल युथ क्लब, संकटा क्लब र सातदोबाटो युथ क्लब

    लिगको सुरुवाती चरणका खेल, मिति र स्थान 

    १, २९ कात्तिक– फेन्ड्स क्लबविरुद्ध सातदोबाटो युथ क्लब – दशरथ रंगशाला 
    २, ३० कात्तिक – हिमालयन शेर्पा क्लबविरुद्ध संकटा क्लब– एन्फा कम्प्लेक्स
    ३, ३० कात्तिक – च्यासल युथ क्लबविरुद्ध थ्रीस्टार क्लब – दशरथ रंगशाला 
    ४, १ मंसिर – जावलाखेल युथ क्लबविरुद्ध मनाङ मर्स्याङ्दी क्लब – एन्फा कम्प्लेक्स
    ५, १ मंसिर – ब्रिगेड ब्वाईज क्लबविरुद्ध एपीएफ फुटबल क्लब– दशरथ रंगशाला
    ६, २ मंसिर – त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध नेपाल पुलिस क्लब– एन्फा कम्प्लेक्स
    ७, २ मंसिर –मछिन्द्र फुटबल क्लबविरुद्ध न्यूरोड टिम एनआरटी – दशरथ रंगशाला