एजेन्सी । इटालियन सिरी ए फुटबलमा जारी सिजन खराब अबस्थामा रहेको युभेन्टस पुन: पराजित भएको छ । शनिबार राति भएको खेलमा घरेलु टोली भेरोनासँग युभेन्टस २-१ गोलले पारजित भएको हो ।
घरेलु टोली भेरोनाको जितमा जियोभन्नी सिमओलीले २ गोल गरे भने यता पाहुना टोली युभेन्टसको लागि वेस्टन म्याकेनीले एक सान्तोना गोल फर्काएका थिए ।
पहिलो हाफमा २-० गोलले पछि परेको युभेन्टसले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको थियो तर सफल हुन सकेन र खेलमा भेरोना २-१ गोलले विजयी भयो । यो सँगै युभेन्टस सिरी ए फुटबलमा पछिल्लो २ खेलमा पराजित भएको छ । यस अघि युभेन्टस घरेलु मैदानमा सासुओलोसँग २-१ गोलले नै पराजित भएको थियो ।
उक्त जित सँगै भेरोनाले कुल ११ खेलबाट १५ अंक बनाउँदै सातौं स्थानमा उक्लिएको छ । यता पराजित युभेन्टस भने समान खेलबाट समान अंक बनाउँदै आठौं स्थानमा झरेको छ ।


