एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले अल्भेससँग बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदान क्याप नोउमा भएको खेलमा बार्सिलोना अल्भेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा घरेलु टोली बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा अल्भेससँग एक–एक अङ्क बाँडेको हो । बार्सिलोनाका लागि मेम्फिस डिपे र अल्भेसका लागि लुइस रियोजाले एक–एक गोल गरेका थिए ।
निकै रोमाञ्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४९औं डिपेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तेस्रो मिनेटमा नै बार्सिलोनाले गोल खायो । ५२औं मिनेटमा रियोजाले गोल गर्दै अल्भेसलाई बराबरीमा फर्काएका थिए । र, बाँकी समय गोल नहुँदा खेल बराबरीमा सकिएको हो ।
उक्त बराबरीसँगै नवौँ स्थानको बार्सिलोनाले ११ खेलमा १६ अङ्क जोडेको छ । यता पाहुना टोली अल्भेस भने १० अङ्कका साथ १६औं स्थानमा रहेको छ ।


