मंगलबार, श्रावण १२ गते २०८३
images
images

मन्त्री यादवले गरिन् औषधि लिमिटेडको अनुगमन

एक्सप्रेस पाना
श्रावण ६, २०८३ बुधबार
  • 90
    SHARES
  • मन्त्री यादवले गरिन् औषधि लिमिटेडको अनुगमन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् ।

    images

    बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएका थिए ।

    अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले मन्त्री यादवलाई दैनिक अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षको अवलोकन गराएका थिए । हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उनले उत्पादन गरिएका औषधि देशभर पु¥याउन आवश्यक सवारीसाधनको अभाव रहेको गुनासो गरे ।

    images

    महाप्रबन्धक पनेरुले जेनजी आन्दोलनका क्रममा औषधि ढुवानीका लागि प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरणमा समस्या भइरहेको जानकारी गराए । उक्त गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई तत्काल आवश्यक सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिइन् ।

    सो अवसरमा महाप्रबन्धक पनेरुले वर्षौंदेखि घाटामा रहेको औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको प्रगति विवरण पनि मन्त्रीसमक्ष प्रस्तुत गरे ।

    लिमिटेड नाफामा गएकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले अब सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, ‘अब हरेक उद्योग तथा संस्थानले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च आफैं व्यवस्थापन गर्न सक्नुपर्छ । मन्त्रालयको ढोका धाएर बजेट माग्ने अवस्था अन्त्य हुनुपर्छ । यो हाम्रो आफ्नै सम्पत्ति हो। संस्थान नाफामा गए देशको अर्थतन्त्र पनि बलियो बन्छ । आवश्यक परे उत्पादन गरिएको औषधि न्यून नाफामा बिक्री गरौं, तर संस्थाको सम्पूर्ण खर्च आफ्नै आम्दानीबाट धान्ने वातावरण बनाऔं ।’

    मन्त्री यादवले आगामी पाँच वर्षभित्र मुलुकमा निराशाको भाष्य परिवर्तन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गरिन् ।

  • सम्बन्धित विषय:

  • # औषधि लिमिटेड