कात्तिक १५ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजका बेला अचानक राजिनामा दिए पछि नेपाली टोली अहिले प्रशिक्षक विहीन बनेको छ ।
त्यसपछि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको प्रशिक्षक बन्नका लागि खुला आवेदन माग गरेको थियो । हिजो (आइतवार) अन्तिम दिनसम्म नेपाल क्रिकेट संघमा ६० जनाले आवेदन दिएका छन् । हिजो अन्तिम दिनसम्म ६० जनाले आवदेन गरेको बताउँदै क्यानले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘अब चाँडै प्रक्रिया पुरा गरेर सर्ट लिस्ट गर्छौं ।’
नेपालले ओमानमा आइसीसी विश्वकप क्रिकेट लिग टुका लागि त्रिकोणात्मक सिरिज खेल्न जाँदा त्यो बेलाका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले अचानक राजिनामा दिएका थिए ।
त्यसपछि क्यानले अक्टोबर १८ मा नयाँ प्रशिक्षकका लागि आवेदन खोलेको थियो । जसमा पुर्ण कालिन समयका लागि हुनुपर्ने, इसीबी, सिए लेभर थ्री गरेको हुनुपर्ने, कम्तिमा पाँच बर्ष फुल मेम्बर, पहिलो श्रेणी र आइसीसी एसोसियट टिम मध्ये एकमा प्रशिक्षण गरेको अनुभव हुनुपर्ने सर्त राखेको थियो ।
क्यानले नेपालको संरचना र क्रिकेटको जानकार भएको प्रशिक्षकलाई प्राथमिकता दिने बताएको थियो । प्रशिक्षकले नेपाली टिमसँग भ्रमण गर्नुपर्ने, तलव आपसी छलफलमा तय गर्ने भनेर आवेदन खुलेको थियो ।


