शुक्रबार, भाद्र २६ गते २०८३
images

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी बनाउन कांग्रेसको आग्रह, एक करोड राहत दिने निर्णय

एक्सप्रेस पाना
भाद्र १४, २०८३ आइतबार
  • 158
    SHARES
  • बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत प्रभावकारी बनाउन कांग्रेसको आग्रह, एक करोड राहत दिने निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ ।

    images

    पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको पदाधिकारी तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सरकारलाई उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको हो । 

    बैठकमा बाढी प्रभावित क्षेत्रको वस्तुस्थितिबारे विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समितिका संयोजक एवं रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्य, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सहमहामन्त्री बहादुरसिंह लामा, नेता जगदीश्वरनरसिंह केसी तथा नुवाकोटका पार्टी सभापति रमेश महतले जानकारी गराएका थिए ।

    images

    समितिका सदस्य–सचिव मानबहादुर थापाले पार्टीका तर्फबाट भइरहेको समन्वय, सहजीकरण तथा आगामी तयारीबारे बैठकलाई जानकारी गराएका थिए ।

    बैठकपछि कांग्रेसले संकटको अवस्थामा सरकार, प्रतिपक्षी राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र र नागरिक समुदाय सबैको साझा ध्यान विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने जनाएको छ ।

    कांग्रेसले बाढीका कारण हराइरहेका व्यक्तिको खोजी, जोखिममा रहेकाको तत्काल उद्धार तथा स्थानान्तरण र प्रभावितलाई राहत उपलब्ध गराउन सरकारलाई पुनः आग्रह गरेको छ । नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले गर्ने सकारात्मक प्रयासमा पार्टीको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि कांग्रेसले व्यक्त गरेको छ । 

    बाढी प्रभावित क्षेत्रबाट आफन्त हराए पनि खोजी तथा उद्धारमा ढिलाइ भएको, ‘एकद्वार प्रणाली’का नाममा राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको र अति प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको गुनासो आइरहेको कांग्रेसले जनाएको छ ।

    विशेषगरी सुरुङमा अड्किएका व्यक्तिको उद्धारमा भएको ढिलाइप्रति कांग्रेसले चिन्ता व्यक्त गरेको छ । यस्ता संवेदनशील कार्यमा सरकारले प्रतिरक्षात्मक प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुपर्ने कांग्रेसको भनाइ छ ।

    कांग्रेसले आवश्यक उपकरण, दक्ष जनशक्ति र प्रविधि तत्काल परिचालन गर्न तथा हवाई उद्धारलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ । 

    सुरुङमा उद्धारका लागि आवश्यकताअनुसार मित्रराष्ट्रबाट प्रविधि र दक्षतासहितको थप उद्धार टोली ल्याउन तथा आवश्यक परे हेलिकप्टर भाडामा लिएर भए पनि उद्धार कार्य तीव्र बनाउन कांग्रेसले आग्रह गरेको छ ।

    कांग्रेसले पार्टीका तर्फबाट एकमुष्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । यसरी संकलन भएको रकमसहित कांग्रेसका तर्फबाट एकमुष्ट एक करोड रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।