शुक्रबार, भाद्र २६ गते २०८३
images

कृष्णभीर पहिरो:१५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट

एक्सप्रेस पाना
भाद्र १८, २०८३ बिहीबार
  • 153
    SHARES
  • कृष्णभीर पहिरो:१५ दिनभित्र अस्थायी ट्र्याक खोल्ने तयारी, त्रिभुवन र कान्ति राजपथ वैकल्पिक रुट

    काठमाडौं । धादिङको कृष्णभीरमा खसेको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड पूर्णरुपमा अवरुद्ध छ । 

    images

    त्रिशूली नदीले जमिन कटान गरेपछि कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौं, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । 

    सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको बताएका छन् । 

    images

    न्यौपानेले ठूला सवारीसाधनसमेत त्रिभुवन राजपथबाट सञ्चालन गर्न सकिने बताए । उनले सडक साँघुरो भएपनि यसअघि पनि उक्त मार्गबाट सवारीसाधन सञ्चालन हुँदै आएको जानकारी दिए ।

    ‘वैकल्पिक रुटका लागि हाम्रो प्लानिङ भनेको अहिलेलाई त्रिभुवन राजपथ र कान्ति राजपथ नै हो, अरू बाटोहरू पनि खुलाउने तयारी गर्दैछौँ,’ उनले भने । 

    कृष्णभीरमा तत्कालै स्थायी पुनर्निर्माण गर्न समय लाग्ने भएपनि अस्थायी रूपमा ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

    ‘पुनर्निर्माण हुन त समय लाग्ला तर अस्थायी रूपमा ट्र्याक खोल्ने र सडक सञ्चालन ल्याउनका लागि १५ दिनको योजना बनाएका छौं,’ न्यौपानेले भने।

    त्रिशूलीको बहाव परिवर्तनले जोखिम बढायो

    न्यौपानेका अनुसार त्रिशूली नदीको बहाव परिवर्तन भएर सडकतर्फ कटान सुरु भएकाले पूर्वाधारमा जोखिम बढेको छ ।

    ‘खोलाको बहाव चेन्ज भएको छ । रोडको साइडतिर खोला बग्न थालेको छ। त्यसले सडकमुनि कटान गरेर ड्यामेज गराइरहेको छ’ उनले भने।

    उनका अनुसार नदीको सतहसमेत बढेकाले आगामी बाढीमा सडकसम्मै पानी आउने सम्भावना बढेको छ ।

    ‘नदीमा पानीको लेभल नै बढेको छ । रोडसम्मै बाढी आउने सम्भावना बढेर गएको छ । थप ड्यामेजको रिस्क,’ उनले बताए।

    वैकल्पिक मार्ग सञ्चालनका लागि अन्य कुन–कुन स्थानमा तत्काल सडक चौडा वा मर्मत गर्नुपर्ने भन्ने विषयमा विभागले अध्ययन गरिरहेको र हालसम्म त्यसबारे ठोस निर्णय भइनसकेको उनले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # कृष्णभीर