शुक्रबार, भाद्र २६ गते २०८३
images

रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार

एक्सप्रेस पाना
भाद्र २१, २०८३ आइतबार
  • 176
    SHARES
  • रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार

    काठमाडौं । रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ ।

    images

    सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसाधनलाई नेपाल प्रवेश गराउने क्रममा दुवै देशका अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन् ।

    रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला अहिले नेपाल–चीन आवागमन तथा व्यापारिक विकल्पका रूपमा प्रयोग हुन थालेको हो । यो व्यवस्थाले तत्काल चीनमा रोकिएका नेपालीको उद्धार र आवागमन सहज बनाएको मात्र छैन, मुस्ताङको कोरला नाकालाई भविष्यमा व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनका लागि रणनीतिक मार्गका रूपमा स्थापित गर्ने सम्भावनालाई पनि बल दिएको छ ।

    images

    कोरला नाका नयाँ मार्ग होइन । स्थानीय इतिहासकारहरूका अनुसार राणाकाल, प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीचको प्रमुख व्यापारिक मार्ग यही क्षेत्र थियो । त्यसबेला मुस्ताङको टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा परिचित थियो ।

    तिब्बती व्यापारीहरू नुन, ऊन र पशुचौपाया बोकेर टुकुचेसम्म आउने गर्थे भने नेपालबाट जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो। यही नुन–अन्न व्यापारले मुस्ताङको आर्थिक र सामाजिक जीवनलाई दशकौँसम्म चलायमान बनाएको थियो ।

    तर सन् १९५०–५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएसँगै पुरानो व्यापार प्रणाली क्रमशः कमजोर बन्दै गयो । त्यसपछि सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्यो र परम्परागत व्यापारिक गतिविधिमा ठूलो परिवर्तन आयो ।

    सीमा विवाददेखि व्यापारको रूपान्तरणसम्म

    सन् १९६० जुन २८ (वि.सं. २०१७ असार १५) मा कोरला नजिकै चिनियाँ सेनाले नेपाली सीमा गस्ती टोलीमाथि गोली चलाउँदा एक नेपाली सुरक्षाकर्मीको मृत्यु भएको ऐतिहासिक अभिलेखमा उल्लेख छ ।

    त्यसबेला चिनियाँ पक्षले नेपाली टोलीलाई तिब्बती विद्रोही ठानेर कारबाही भएको जनाएको थियो । नेपालले कूटनीतिक विरोध जनाएपछि चीनले घटनाप्रति क्षमा माग्दै ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको विवरण पनि पाइन्छ ।

    त्यसअघि २००७ सालपछि भारतले लोमान्थाङ र जोमसोम क्षेत्रमा सैनिक पोस्ट स्थापना गरेको स्थानीय इतिहासमा उल्लेख छ । ती राजनीतिक र सुरक्षा घटनाक्रमसँगै पुरानो व्यापारिक संरचना क्रमशः कमजोर हुँदै गयो ।

    व्यापार खस्किएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरूले काठमाडौं, विभिन्न जिल्ला सदरमुकाम र तराईका बजारतर्फ व्यापार विस्तार गरे । कतिपयले बाटोछेउमा खरका भट्टी सञ्चालन गरे, जुन समयसँगै थकाली भान्साघर, होटल, लज र आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भए ।

    सडक पुगेपछि फेरियो सम्भावना

    पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन र सडक पहुँच विस्तारका प्रयास भए पनि पूर्वाधार अभाव र राजनीतिक उतारचढावका कारण कामले गति लिन सकेन । २०६२÷६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक विस्तार हुँदै माथिल्लो मुस्ताङसम्म सवारीसाधन पुग्न थाले । त्यसपछि २०७२ सालको भूकम्प र दक्षिणतर्फको नाकाबन्दीले चीनसँग जोडिने उत्तरी मार्गहरूको महत्त्व अझ बढायो ।

    त्यसयता सरकारले कोरला नाकासम्मको सडक स्तरोन्नति र कालोपत्रेका लागि विभिन्न चरणमा बजेट विनियोजन गर्दै आएको छ । अहिले पनि सडक सुधारका काम विभिन्न चरणमा अघि बढिरहेका छन् ।

    लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङका अनुसार गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरला नाका हुँदै भिसा लगाएर आफ्नै खर्चमा तिब्बतको ल्हासा र सिगात्से भ्रमण गरेका थिए ।

    उनले कोरला हुँदै आवागमन थप विस्तार भए माथिल्लो मुस्ताङको पर्यटन, स्थानीय व्यापार र सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्ने बताए । नेपालका उत्तरी सीमामा चीनसँग जोडिने तातोपानी, केरुङ र कोरला तीनवटै नाकाको आ–आफ्नै ऐतिहासिक भूमिका छ । तर रसुवाको बाढी र पहिरोपछि रसुवागढी बन्द हुनु, तातोपानी नाका पनि प्रभावित हुनु र त्यसपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको घटनाले यसको रणनीतिक महत्त्व थप स्पष्ट भएको छ ।

    एक समय नुन र अन्नको व्यापार बोक्ने यही मार्ग अहिले चीनमा रोकिएका नेपालीलाई स्वदेश फर्काउने वैकल्पिक प्रवेशद्वार बनेको छ । यसले तत्कालीन संकट व्यवस्थापनमा राहत पु¥याएको मात्र होइन, भविष्यमा नेपाल–चीन व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनको अर्को भरपर्दो मार्गका रूपमा कोरलाको सम्भावनालाई पनि नयाँ ढंगले उजागर गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोरला नाका