काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका सहप्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार कोषसँग आबद्ध कर्मचारी, सहभागी तथा उनीहरूका आश्रित परिवारका सदस्यले अस्पतालको बिल तथा परीक्षण सेवामा २० प्रतिशत र शल्यक्रिया कक्ष (ओटी) तथा फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन्। यद्यपि, बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट लागू हुने छैन।
सम्झौताअन्तर्गत अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य प्याकेज तथा आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ। स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गरिने पनि सम्झौतामा उल्लेख छ।
कोषका कर्मचारी तथा सहभागीको पहिचान कोषको परिचयपत्रका आधारमा गरिनेछ। परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा भने कोषले आवश्यक विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था गरिएको छ।
त्यसैगरी, स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा दुवै संस्थाले प्राप्त गर्ने सूचना सुरक्षित तथा गोप्य राख्नुपर्ने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ।
.jpg)


