एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा अजाक्स र स्पोर्टिङ सिपीले जित हात पारेका छन् ।
बुधबार रातिको जितसँगै समूहमा ६ अंकको अग्रता बनाएको नेदरल्याण्डको शीर्ष डिभिजन च्याम्पियन अजाक्स अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
जर्मन क्लब बोरुसिया डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा अजाक्स ३-१ ले विजयी भयो । कुनै समय १-० गोलले पछि परेको स्थितिलाई उल्टाउने क्रममा अजाक्सको लागि डुसान टाडिक, सेबास्टियन हलेर र डाभ्य कलासेनले १/१ गोल गरे । यता, डर्टमण्डको लागि मार्काे रेउसले पेनाल्टीमा गोल गर्दै ३७औं मिनेटमा अग्रता बनाएका थिए ।
गएराति नै भएको अर्काे खेलमा पोर्चुगलको स्पोर्टिङ सिपीले टर्कीको बेसिक्तास जेकेलाई ४-० गोल अन्तरले पराजित गर्यो । स्पोर्टिङको एकोहोरो जितमा पेड्रो गोन्काल्भेसले २ गोल तथा पौलिन्हो र पाब्लो सरवियाले १/१ गोल गरे ।
चौथो चरणको अन्त्यसँगै समूह ‘सी’ बाट ४ खेल खेल्दै अजाक्स सत प्रतिशत जित सहित १२ अंक बोकेर शीर्षस्थानमा छ । समान ६ अंक भए पनि गोल अन्तरका आधारमा स्पोर्टिङ दोस्रो र डर्टमण्ड तेस्रो स्थानमा छ । बिना अंक बेसिक्तास भने पुछारमा रहेको छ ।


