एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एथ्लेटिको मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । आइतबार राति भ्यालेन्सिया र एथ्लेटिकोले ३-३ गोलको बराबरी रोकिएका हुन् ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एथ्लेटिकोका लागि लुइस स्वारेज, एन्टोनियो ग्रिजम्यान र सिमे भसाल्जोले १/१ गोल गरे । घरेलु टमेलीका हुगो डुरोले २ गोल गरे । भ्यालेन्सियाले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । एथ्लेटिकोका स्टेफन सेभिकले आफ्नै पोस्टमा गोल गरेका थिए ।
स्वारेजले खेलको ३५औं मिनेटमा गोल गर्दै एथ्लेटिको लाई सुरुवाती अग्रता दिलाएका थिए । ५०औं मिनेटमा एथ्लेटिकोका सेभिकले आत्मघाती गोल गरेपछि भ्यालेन्सिया बराबरीमा फर्कियो ।
त्यस्तै अेलको ५८औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई पुनः अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै भर्साल्जोले गोल गरेपछि एथ्लेटिकोले ३-१ गोलको अग्रता बनायो । तर खेलको इन्ज्युरी समयमा डुरोले २ गोल गर्दै भ्यालेन्सियालाई बराबरीमा फर्काए ।
उक्त बराबरीसँगै चौथो स्थानको एथ्लेटिकोले १२ खेलमा २३ अङ्क जोडेको छ । भ्यालेन्सिया भने १७ अङ्कका साथ दसौँ स्थानमा छ । उसले १३ खेल खेलेको छ ।


