एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको मिलान डर्बी बराबरीमा सकिएको छ । एसी मिलानको घरेलु मैदान सान सिरोमा भएको उक्त डर्बीमा एसी मिलान र इन्टर मिलानले १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
पाहुना टोली इन्टरका लागि हाकन काल्हानोग्लुले गोल गरेका थिए । मिलानले भने आत्मघाती गोल उपहारमा पाएको थियो । खेलको ११औं मिनेटमा इन्टरले पेनाल्टीको मौका पाएको थियो । जसमा काल्हानोग्लुले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको १७औं मिनेटमा भ्रिजले आत्मघाती गोल गरेपछि मिलान बराबरीमा फर्कियो । खेलको २७औं मिनेटमा इन्टरले पुनः पेनाल्टीको मौका पाएको थियो । तर लाउटारो मार्टिनेज उक्त पेनाल्टीमा चुक्न पुगेका थिए । त्यस पछि बाँकी समय थप गोल नहुँदा जारी सिजनको पहिलो मिलान डर्बी १-१ गोलको बराबरीमा सकियो ।
उक्त बराबरीसँगै दोस्रो स्थानको मिलानले १२ खेलमा ३२ अङ्क जोडेको छ । इन्टर भने २५ अङ्कका साथ तेस्रो स्थानमा छ ।


