एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत यूरोपियन छनोट खेलमा स्विट्जरल्यान्डसँग इटाली बराबरीमा रोकिँदा अंक बाँड्न बाध्य भएको छ ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा ९०औं मिनेटमा पाएको पेनाल्टीलाई मिडफिल्डर जर्जिन्होले बाहिर प्रहार गर्दा इटली २-१ को अग्रता बनाउन चुकेको हो । यस नतिजासँगै इटालीले सिधै विश्वपकमा छनोट हुने मौका गुमाएको छ ।
खेलमा स्विट्जरल्यान्डले सिल्भान विडमेरको गोलबाट ११ औं मिनेटमा अग्रता बनाएको थियो । ३६ मिनेटमा जिओभानी डे लोरेन्जोले बराबरी गोल गरेका थिए । अन्तिम समयमा भारको सहायताले पेनाल्टी पाएपनि इटली जित निकाल्न सफल भएन ।
खेलपछि समूह 'सी'मा सात चरणका खेल सकिँदा इटली र स्विट्जरल्यान्ड १५/१५ अंकमा साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । समूह 'सी' को खेलमा नर्थन आयरल्याण्ड र लिथुआनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


