एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको लागि विश्व विजेता फ्रान्स छनोट भएका छन् । शनिबार राति भएको खेलमा विजयी हुँदै सन् २०१८ को विश्वविजेता फ्रान्स छनोट भएका हुन् ।
समूह ‘डी’ को खेलमा युवा अट्याकर केलियन एम्बाप्पेको ह्याट्रिक मद्धतमा फ्रान्सले काजखस्तालाई ८-० को भारी गोल अन्तरले पराजित गर्यो । एकोहोरो गोल गर्ने क्रममा फ्रान्सले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप ५ गोल गरेको थियो ।
फ्रान्सको जितमा केलिएन एम्बाप्पेले ४ गोल गरे । उनले खेलको ६, १२, ३२ र ८७औं मिनेटमा गोल गरे । यस्तै करिम बेन्जेमाले २ गोल गरे । बेन्जेमाले खेलको ५५ र ५९औं मिनेटमा गोल गरेका थिए ।
यस्तै एड्रियन रविओटले खेलको ७५औं मिनेटमा गोलगर्दा एन्टोनियो ग्रिजम्यानले खेलको ८४औं मिनेटमा पेनाल्टीमा गोल गरे । समूह ‘डी’कै अर्को खेलमा फिनल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
उक्त जितसँगै सातौं चरणको खेल समाप्तीसँगै फ्रान्सले ४ जित, ३ बराबर खेल्दै १५ अंक बनाएर विश्वकपमा स्थान पक्का गरेको हो । समूह ‘डी’ मा ११ अंक बनाएको फिनल्याण्ड दोस्रो स्थानमा छ । ९ अंकको युक्रेन तेस्रो स्थानमा रहँदा ७ अंकको बोस्निया हर्जगोभिना चौथो स्थानमा छ भने काजखस्तान ३ अंकसहित पाँचौ स्थानमा छ ।


