शुक्रबार, भाद्र २६ गते २०८३
images

अस्ट्रेलियाले जित्यो पहिलोपटक टि-२० विश्वकपको उपाधि, वार्नर सर्वोत्कृष्ट खेलाडी

एक्सप्रेस पाना
कार्तिक २९, २०७८ सोमबार
  • 246
    SHARES
  • अस्ट्रेलियाले जित्यो पहिलोपटक टि-२० विश्वकपको उपाधि, वार्नर सर्वोत्कृष्ट खेलाडी

    एजेन्सी । टि-२० विश्वकप २०२१ को उपाधि अस्ट्रेलियाले आफ्नो पोल्टामा परेको छ । आइतबार भएको फाइनल खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको छ ।

    images

    शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अस्ट्रेलियाले आइसिसी टि-२० विश्वकपको उपाधि जितेको हो । १४ वर्ष लामो टि-२० विश्वकपको इतिहासमा अस्ट्रेलियाको नाममा यो पहिलो टि-२० विश्वकप हो । न्युजिल्यान्डले विश्वकपको फाइनलमा फेरि जित हात पार्न सकेन ।

    न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको थियो । अस्ट्रेलियाले उक्त लक्ष्य १९औं ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन र आरोन फिन्च मात्र ५ रन बनाएर आउट भए । तर त्यसपछि आएका मिचेल मार्सले ओपनर डेभिड वार्नरसंग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे ।

    images

    वार्नर ३८ बलमा ५३ रन बनाएर १०७ रनमा आउट हुँदा अष्ट्रेलियाको झोलामा खेल आइसकेको थियो । मिचेल मार्स ७७ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल १८ बलमा २८ रनमा अविजित रहे ।

    न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले धमाकेदार ब्याटिङ गर्दै ४७ बलमा ८५ रन बनाएका थिए । मिचेल जस्तै उनी पनि हेजलवुडको बलमा आउट भए । यसपछि मार्टिन गुप्टिलले ३५ बलमा २८ रन बनाए । डेरिल मिचेलले ८ बलमा ११ रन बनाए । ग्लेन फिलिप्सले १७ बलमा १८ रन बनाए ।

    यस इनिङ्समा अस्ट्रेलियाका लागि जोस हेजलउडले सर्वाधिक ३ विकेट लिए । उनले मिचेल, विलियम्सन र फिलिप्सलाई प्याभिलियनमा लगे । अस्ट्रेलिया विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने छ । उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्ने भएका छ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले इंग्ल्यान्ड र पाकिस्तानले ४/४ लाख डलर प्राप्त गर्नेछन् । अस्ट्रेलियाले यसअघि दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ ।

    त्यस्तै यता अस्ट्रेलियाका ओपनर डेविड वार्नर आइसिसी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । अस्ट्रेलियालाई पहिलो पटक टि-२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका हुन् । अस्ट्रेलियालाई उपाधि जिताउन वार्नरले ७ खेलमा ३ अर्धशतक सहित २ सय ८९ रन बनाएका थिए । १४६.७० को स्ट्राइक रेटमा वार्नरले ३२ चौका र १० छक्का प्रहार थिए । औसत ४८.१६ थियो । वार्नरले प्रतियोगिताभर कुल १ सय ९७ बल खेलेका थिए ।