एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको छनोट खेलमा जर्मनीले अर्मानियामाथि सहज जित निकालेको छ । विश्वपकको युरोपियन छनोटतर्फ जर्मनीले अर्मानियालाई उसैको मैदानमा ४–१ गोलान्तरको जित दर्ता गरेको हो ।
जर्मनीको जितमा इल्के गुन्डोगानले दुई गोल गर्दा काइ हाभर्ट्ज र जोनास होफम्यानले एक गोल गरे । अर्मानियाका हनरिक खितार्यानले एक गोल गरे ।
खेलको १४औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा गुन्डोगानले पेनाल्टीमा गोल गरेपछि जर्मनीले आफ्नो अग्रता दोब्बर बनायो ।
जर्मनीले ५०औं मिनेटमा गुन्डोगानको गोलमार्फत तेब्बर अग्रता बनाएको थियो । ५९औं मिनेटमा अर्मानियाका खितार्यानले पेनाल्टीमा गोल गरेका थिए । ६४औं मिनेटमा जर्मनीका होफम्यानले गोल गर्दै ४–१ गोलको जित दिलाए ।
उक्त जितसँगै समूह ‘जे’को शीर्ष स्थानमा रहेको जर्मनीले १० खेलमा २७ अङ्क जोड्यो । जर्मनी यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । चौथो स्थानको अर्मानियासँग १२ अङ्क छ ।


