शनिबार, भाद्र २७ गते २०८३
images

ए डिभिजन लिग : अन्जनको कप्तानीमा मनाङको २४ सदस्यीय टोली घोषणा 

एक्सप्रेस पाना
मंसिर ३, २०७८ शुक्रबार
  • 920
    SHARES
  • ए डिभिजन लिग : अन्जनको कप्तानीमा मनाङको २४ सदस्यीय टोली घोषणा 

    मंसिर ३ काठमाडौं । घरेलु फुटबलमा सर्वाधिक सफल तथा कीर्तिमानी आठौं पटकको शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता  नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले शुक्रबारबाट सुरु हुने लिगको लागि खेलाडी सार्वजनिक गरेको छ । 

    images

    मनाङले ४ विदेशी, राष्ट्रिय र अनुभवी खेलाडीसहित २४ सदस्यीय टोली घोषणा गरेको हो । यद्यपि अखिल नेपाल फुटबल संघ (एन्फा) को खेलाडी दर्ता नियमावलीअनुसार एक टोलीले ५० खेलाडीसम्म अनुबन्धन गर्न पाउनेछ । 

    मनाङले मैदान उतार्ने तय भएका पोर्चुगलका डिफेन्डर विल जर्ज भने अन्तर्राष्ट्रिय खेलाडी सरुवाको पत्र नहुँदा ‘ए’ डिभिजन लिग गुमाउने छन् । उनलाई मनाङले एक महिनादेखि नेपाल भित्र्याएको थियो । 

    images

    जर्जको अनुपस्थितिमा मनाङको डिफेन्स लाइनमा क्यामरुनका फ्रान्कलिन कुईटे टल्ला रहने छन् । उनी गत नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेका थिए ।  

    टोलीका रणनीतिकार तोपे फुजा भने २४ तारिखमा नेपाल हिँड्ने कार्यक्रम छ । पछिल्लो नेपाल सुपर लिग (एनएसएल)मा धनगढी र दुई ‘ए’ डिभिजन लिगमा मनाङको ‘टच लाइन’मा रहँदै आएका फुजालाई यसपटकसमेत क्लबले निरन्तरता दिएको हो । 

    मनाङको मुख्य प्रशिक्षकमा भने ‘ए’ लाइसेन्स प्राप्त राजेन्द्र तामाङ हुनेछन् । मनाङका पूर्व खेलाडीसमेत रहेका राजेन्द्रले पहिलो पटक मनाङको मुख्य प्रशिक्षकमा रहेर काम गर्दैछन् । यसअघि गत दुई सिजन तामाङले विभागीय एपीएफ हेरेका थिए । 

    अन्जन बिष्टको कप्तानीमा रहेको मनाङमा अर्का अट्याकर विमल राना उपकप्तान रहनेछन् । 

    मनाङलाई राष्ट्रिय टोलीका सदस्य अन्जन बिष्टसहित गोलरक्षक विशाल सुनार, डिफेन्डर दिनेश राजवंशी, पुजन उपरकोटी र नितिन थापाको साथ छ । राष्ट्रिय टोलीबाट खेलिसकेका विमल राना, आदित्य चौधरीसहित मनाङलाई युवा टोलीबाट खेलेका प्रवेश दनुवार, एकराज बुढाथोकी, विश्व अधिकारी, रुपेश केसी जस्ता खेलाडीको रहनेछ । 

    यता, विदेशी खेलाडीमा भने मनाङले आठौंपटक लिग जित्दा उत्कृष्ट प्रदर्शन गरेका आफिज ओवावाले र एडेलाजा सोमिडेलाई भित्र्याएको छ भने दक्षिण एसियाली कोटामा गत वर्षसमेत खेलेका भारतीय दयानन्द सिंहलाइ अनुबन्धन गरेको छ । 

    मनाङले यसपटक समेत लिगको उपाधिमा दाबी गरेको छ । मनाङले ५ मंसिरमा जावलाखेल युथ क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ । 

    ए डिभिजन लिगका लागि तय मनाङको खेलाडी 
    गोलरक्षक – विशाल सुनार, तोपबहादुर राना, अशोक बराल
    डिफेन्डर– प्रवेश दनुवार, दिनेश राजवंशी, आदित्य चौधरी, फ्रान्कलिन कुईटे टल्ला (क्यामरुन), एकराज बुढाथोकी, नारायण चौधरी, सुजल श्रेष्ठ (हेटौडाका युवा खेलाडी) 
    मिडफिल्डर– पुजन उपरकोटी, नितिन थापा, विश्वो अधिकारी, सरोज योञ्जन लामा, ओलुवावुन्मी सोमिडे एडेलाजा, अन्जन बिष्ट (कप्तान), दयानन्द सिंह इलाबग्बाम, रुपेश केसी,  दिनेश घर्ती मगर, प्रशान्त लामा, 
    स्ट्राइकर –विमल राना (उपकप्तान), निशान लिम्बू, दिपक राई, अफिज ओलावाले ओलादिपो (नाइजेरिया) 

    अफिसियल
    प्रशिक्षक – राजेन्द्र तामाङ, तोपे फुजा
    गोलरक्षक प्रशिक्षक– विनोद महर्जन 
    म्यानेजर – मानबहादुर गुरुङ
    टिम कोर्डिनेटर– मिलन गुरुङ (ज्याक)
    किट म्यानेजर – शिव लामा
    फिजियो – पर्वत थोथम गुरुङ