मंसिर ३ काठमाडौं । आजबाट सुरु भएको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरका नवप्रवेशी टोली सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजबाट सुरु भएको यस प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हो ।
तुलनात्मक रुपमा खेलमा सातदोबाटोले केही राम्रो अवसर सिर्जना गरेता पनि अग्रता भने बनाउन सकेन । त्यस्तै खेलको ७६औं मिनेटमा फ्रेण्ड्स क्लब १० खेलाडीमा सिमित भनेको थियो । उसका रोनेल एन्थोनी पाउलले दोहोरो पहेँलो कार्ड व्यहोर्दै रातो कार्ड परेका थियो । उनले पहिलो पहेँलो कार्ड ६१औं मिनेटमा पाएका थिए ।
उक्त बराबरी सँगै दुबै टोलीले १/१ अंक बाँढेका छन् । सातदोबाटो युथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । फ्रेण्ड्सले भने झण्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ ।
शनिबार लिगमा दुई खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । साँझ ४ः४५ बजे हुने दोस्रो खेलमा ललितपुरका च्यासल यूथ र थ्री स्टार क्लबले खेल्नेछन् ।


