शुक्रबार, भाद्र २६ गते २०८३
images

लक्ष्मी क्यापिटलको नाफा योजनामा बृद्दि 

एक्सप्रेस पाना
श्रावण ११, २०७८ सोमबार
  • 430
    SHARES
  • लक्ष्मी क्यापिटलको नाफा योजनामा बृद्दि 

    काठमाडौँ ।  यस वर्ष सबैभन्दा पहिले लाभांश पस्ताव गरेका लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्वीटी फण्डले असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुबै योजनाको सोमवार वित्तीय विवरण अनुसार अघिल्लो महिनाको तुलनामा नाफामा बृद्धि भएको छ । जेठ महिनाको भन्दा असार महिनामा लक्ष्मी उन्नती कोषको नाफा १८ दशमलव २१ प्रतिशत र लक्ष्मी इक्वीटी फण्डको नाफा १० दशमलव ३९ प्रतिशत बढी भएको हो । 

    images

    लक्ष्मी उन्नती कोषले जेठ महिनामा रू २७ करोड १८ लाख ५७ हजार नाफा गरेकोमा असार महिनामा रू ३२ करोड १३ लाख ६९ हजार नाफा गरेको छ । यस योजनाले इकाईधनीहरुका लागि २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रयोजनका लागि योजनाले साउन १३ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । 

    लक्ष्मी उन्नती कोषको असार मसान्तसम्म प्रति इकाई खुद मूल्य पनि बृद्धि भई रू १४ दशमलव ९२ कायम भएको छ । यो मूल्य जेठ मसान्त्स्म्म रू १४ दशमलव १७ रहेको थियो । असार मसान्तमा जेठको तुलनामा करिब १९ प्रतिशत बढी रू  ३३ करोड ७५ लाख १४ हजार कुल आम्दानी गरेको यस योजनाले ३६ प्रतिशत बढी रू १ करोड ६१ लाख ४५ हजार कुल खर्च गरेको छ । जेठ महिनामा योजनाको कुल खर्च रकम रू १ करोड १८ लाख ५६ हजार थियो ।

    images

    यो अवधिसम्म लक्ष्मी उन्नती कोषले धितोपत्र दलाल कमिसन सहित रू ३७ करोड २२ लाख ८१ हजार बराबरको धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने रू ५२ करोड ९८ लाख २ हजार रहेको छ । जेठ महिनामा यो मूल्य रू ५८ करोड ६१ लाख ८० हजार थियो । जेठ महिनाको तुलनामा असार महिनामा बजारमूल्य भने घटेको छ ।

    त्यस्तै यस वर्षका लागि ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको लक्ष्मी इक्वीटी फण्डले पनि असार महिनासम्ममा रू ७२ करोड ५७ लाख ४६ हजार नाफा गरेको छ । जेठ महिनामा यो नाफा रू ६५ करोड ७४ लाख ३३ हजार थियो । जेठ महिनाको भन्दा असार महिनामा योजनाको कुल आम्दानी १० दशमलव ४४ प्रतिशत बढेको छ भने योजनाले करिब १२ प्रतिशत बढी खर्च गरेको छ । रू ७५ करोड ५० लाख ७ हजार असार महिनामा कुल आम्दानी गरेको योजनाले रू। २ करोड ९२ लाख ६१ हजार कुल खर्च गरेको थियो । जेठ महिनामा योजनाको कुल आम्दानी रू ६८ करोड ३६ लाख २५ हजार थियो भने रू २ करोड ६१ लाख ९१ हजार खर्च गरेको थियो । 

    लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई मूल्य भने जेठको तुलनामा असार महिनामा घटेको छ । जेठ महिनामा रू १६ दशमलव १३ रहेको योजनाको प्रति इकाई खुद मूल्य असार महिनामा रू १५ दशमलव ८१ मा झरेको हो । धितोपत्र दोस्रो बजारमा लगानी गर्ने उदेश्य सहित स्थापित यस योजनाले असार मसान्तसम्म ब्रोकर कमिसन सहित रू ८१ करोड २२ लाख ८३ हजार बराबरको लगानी गरेकोमा यसको बजार मूल्य रू १ अर्ब १० करोड ४० लाख १९ हजार रहेको छ । योजनाको लागत भन्दा बजारमूल्य बढी रहेको हो । जेठ महिनाको भन्दा असार महिनामा योजनाको बजार मूल्य करिब १८ प्रतिशतले बृद्धि भएको छ । जेठ महिनामा योजनाको धितोपत्र लगानीको बजार मूल्य रू ९३ करोड ७५ लाख ५७ हजार थियो ।