मंसिर ५ काठमाडौं । रोमाञ्चक खेलमा विभागीय एपीएफ फुटबल क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा एपीएफलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेडले महत्त्वपूर्ण तीन अंक जोडेको हो । ब्रिगेडक लागि दिनेश राईले २ तथा सुरज गुरुङले १ गोल गरे । यता एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान १/१ गोल फर्काए ।
खेलको १४औं मिनेटमा ब्रिगेडका दिनेश राईले सुरुवाती अग्रता बनाए । उनले करिब ३५ यार्डबाट हानेको फ्री किक ूसेकेन्ड बारको टप कर्नरू मा सिधै लाग्न पुगेको थियो । स्पेनबाट व्यावसायिक फुटबल खेल्दै आएका आवास लामिछानेको उत्कृष्ट पासमा एपीएफका फरवार्ड आशिष लामाले १९ औं मिनेटमा १-१ को बराबरी गोल गरे।
६५औं मिनेटमा दिनेश राईले व्यक्तिगत दोस्रो तथा टोलीको लागि २-१ को अग्रता दिलाए। दिनेशले विदेशी खेलाडी ड्याडी जुनियरको पासमा सदुपयोग गरे । यसपछि रवि थिङको पासमा एपीएफका वैकल्पिक खेलाडी विक्की तामाङको खेलको ७७औं मिनेटमा २-२ को बराबरी गोल गरे । खेलको ९०औं मिनेटपछि थपिएको समयमा सुरजले गोल गर्दै महत्त्वपूर्ण तीन अंक दिलाए । सुरजले वैकल्पिक भुवन बस्नेतको पासमा गोल गरेका थिए ।
यसअघि दुवै टोलीले केही गोल गर्ने अवसर बनाए । तर, दुवै टोलीले सदुपयोग भने गर्न सकेनन् । ४४औं मिनेटमा ब्रिगेडका कप्तान रोशन राना मगरले गरेको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो। ४९औं मिनेटमा मिनेटमा एपीएफका आशिष लामाको प्रहार क्रसबारमा ठोक्किएर फर्किएको थियो।
खेलको म्यान अफ दि म्याच ब्रिगेड ब्वाइज क्लबका कप्तान रोशन राना मगर भए । उनले १० हजार रुपैयाँ पाए ।
दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिमानी आठौं पटकको मनाङ र जावलाखेलबीचको खेल ४स्४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुवात गर्ने योजनामा हुनेछ । राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङ अन्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदिप कार्कीको कप्तानीमा छ ।


