एजेन्सी । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबलको प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर सिटी विजयी भएको छ ।
बुधबार राति भएको समूह चरण पाँचौं खेलमा फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) २-१ गोल अन्तरले पराजित गरेको हो । स्टार खेलाडीले भरिएको पिएसजीलाई पराजित गर्दै म्यानचेष्टर सिटी समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको छ ।
उक्त खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलमा सुरुवाती अग्रता भने पाहुना टोली पिएसजीले बनाएको थियो । उसका लागि केलियन एमबाप्पेले खेलको ५०औं मिनेटमा टोलीको लागि अग्रता लिएका थिए । तर रहिम स्टर्लिङले खेलको ६३औं मिनेटमा बराबरी गोल गरे भने ग्रावियल जेसुसले ७६औं मिनेटमा २-१ गोलको अग्रता बनाए ।
स्पेनिस क्लब रियम मड्रिडबाट पेरिस झरेका सर्जियो रामोस सिटीविरुद्ध टोलीमा समावेश भएपनि डेब्यु भने गर्न पाएनन् । सिटीविरुद्ध पिएसजीले लियोनल मेस्सी, नेयमार र एमबाप्पेको जोडीलाई अग्रपंक्तिको जिम्मेवारी दिएपनि सफल भएनन् ।
यस समूहबाट सिटी समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउँदा पिएसजी उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनायो ।
समुह ए को अर्को खेलमा आरबी लाइपजिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्याे । जितसँगै सिटीले ५ खेलमा १२ अंक जोड्दै शीर्षस्थान कब्जा गर्याे । पिएसजी समान खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजित र ब्रुगको समान ४ अंक रहेको छ ।


