मंसिर १० काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो चरणको खेलमा संकटा फुटबल क्लबले फ्रेण्ड्स फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको खेलमा पहिलो हाफमा फ्रेण्ड्सले १-० गोलको अग्रता बनाएको थियो तर उक्त अग्रता जोगाउन नसक्दा पराजित भएको हो ।
संकटाको जितमा निरज बस्नेत र फोडे फोफानाले गोल गरेका थिए । त्यस्तै फ्रेण्ड्सका लागि प्रकाश बुढाथोकीले गरेको गोल सान्त्वना बन्यो ।
फ्रेण्ड्सका लागि खेलको ४२औं मिनेटमा कप्तान प्रकाश बुढाथोकी गोल गरि पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका हुन् । तर संकटाले दोस्रो हाफमा पुनरागमन गर्दै खेलमा जित निकाल्यो । दोस्रो हाफको खेलको ५९औं मिनेटमा संकटाका लागि निरज बिष्टले गोल गरि खेल बराबरी अबस्थामा फर्काए ।
त्यस्तै खेलको ८६औं मिनेटमा संकटाका लागि फोडे फोफानाले गोल गरि २-१ गोलको जित दिलाए । उक्त जितसँगै संकटाले २ खेलबाट ४ अंक बनाएको छ । त्यस्तै पराजित फ्रेण्ड्सको भने १ अंक रहेको छ ।
यसअघि आजै भएको पहिलो खेलमा सातदोबाटोले थ्री स्टारलाई १-० गोलले पराजित गरेको थियो ।


