मंसिर ११ काठमाडौं । राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी फुटबल क्लबले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे । उनले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।
उक्त जितसँगै कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो ।
हिमालयनको यो पहिलो हार हो । पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै आजको खेलको म्यान अफ दि म्याच मनाङका पुजन उपरकोटी चुनिए ।


