शुक्रबार, भाद्र २६ गते २०८३
images

पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध

एक्सप्रेस पाना
श्रावण १४, २०७८ बिहीबार
  • 443
    SHARES
  • पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध

    काठमाडौँ । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । बुधवार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्ण रूपमा ठप्प भएको छ ।

    images

    पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने यातायातको सेवा बट्टारमा नै रोकिएका छन् ।

    बुधवार राति करिब ९ बजेतिर पुलको जगमा क्षति पुर्‍याएसँगै सडक पूर्ण रूपमा अवरुद्ध हुँदा विदुरबाट मैथली ब्यारेक हुँदै बट्टारतर्फ जाने सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पुल भासिएसँगै सडकको दुवैतर्फ विच्छेद भएको छ । पैदल यात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ ।

    images

    पुल भासिएसँगै विदुर–बट्टारको यातायात अवरुद्ध भएर आपत्कालीन सेवा दिने सवारी साधनसमेत आउजाउ हुन सकेका छैनन् । उपयुक्त विकल्पको सडक नहुँदा मर्मत सम्भार गरेर पुनः सञ्चालन नभएसम्म सवारी साधन रोकिनुपर्ने बाध्यता छ ।

    क्षति पुगेको पुल र अवरोध भएको सडक अहिले बिहानबाट खुलाउन प्रयास गरिने डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहनुभएका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक डिभिजन र योजना कार्यालयका उपकरण र जनशक्ति परिचालन गरेर जतिसक्दो छिटो अवरुद्ध सडक पुनः सञ्चालन गर्न प्रयास गरिने छ ।

    यसैबिच बुधवार साँझ परेको वर्षाले जिल्लाको अन्य स्थानमा पनि पहिरो गई घरमा क्षति पुगेका विवरण सङ्कलन हुने क्रममा रहेको नुवाकोट प्रहरीले जनाएको छ । चट्याङसहितको वर्षाले पानीको मुहानका स्रोत बढाएका छन् भने खोल्सा, खोला र नदीमा पानीको बहाव बढेको छ ।