शुक्रबार, भाद्र २६ गते २०८३
images

यात्रुसँग बढी भाडा लिने यातायात कारबाहीको दायरामा

एक्सप्रेस पाना
श्रावण १८, २०७८ सोमबार
  • 506
    SHARES
  • यात्रुसँग बढी भाडा लिने यातायात कारबाहीको दायरामा

    काठमाडौँ । यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन शाखा प्रमुख सुनिलजंग शाहले जानकारी दिए।

    images

    बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर यात्रु बोक्ने सवारीका विषयमा महाशाखाको फोन नं १०३ खबर गर्न पनि उनले आह्वान गरेका छन्। सरकारले असार २८ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढाएको थियो। अन्तर प्रदेश चल्ने यातायातमा भाडा बढाइएकामा काठमाडौँ उपत्यका र जिल्ला जिल्लामा समेत बढी लिइएको यात्रुको गुनासो छ।

    प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार स्थानीय सरकारलाई रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा।लोकनाथ भुसाल बताउँछन्। दुवै सरकारले अहिलेसम्म भाडा बढाउने निर्णय गरेका छैनन्। भाडा बढाउनेलाई कारबाही पनि नगरेकामा यात्रुको गुनासो छ।

    images

    न्यूनतम चार किमी यात्रा गर्दा १४ भाडा तोकिएकामा हाल २० उठाउन थालेको यात्रुको भनाइ छ। अठ्ठाइस प्रतिशत भाडा बढेकाले २० लिएको सार्वजनिक यातायातका परिचालकको भनाइ छ। यसरी भाडा लिँदा परिचालकले टिकट भने दिँदैनन्।

    यात्रु वसन्ती महर्जन जनचासोका विषयमा कुनै पनि तहका सरकारले अनुगमन र कारबाही नगर्दा मनपरी भाडा असुली भइरहेको बताउँछिन्। स्थानीय सरकारले बजार अनुगमनसमेत नगर्दा बजार पनि कोभिडसँगै बढेको उनको गुनासो छ। जनप्रतिनिधिलाई जनताका समस्याभन्दा अन्य विषयमै बढी ध्यान जान थालेकाले सास्ती व्यहोर्नुपरेको दुःखेसो पोख्न थालेका छन्। रासस