काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर नतिर्ने ५२ वटा कम्पनीलाई सार्वजनिक रुपमा ताकेता गरेको छ। आन्तरिक रुपमा गरेको आग्रहलाई बेवास्ता गरेपछि महानगरले ३० दिनभित्र कर तिर्न तोकता गर्दै आइतबार सूचना प्रकाशित गरेको हो।
कर नबुझाउनेमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको बालाजुस्थित जनमैत्री अस्पताल समेत रहेको छ। सार्वजनिक सूचना अनुसार नेपाल विद्युत् प्राधिकरण, खाद्य संस्थानदेखि निजि स्तरमा सञ्चालित प्रष्ठित कम्पनीले समेत कर बुझाएका छैनन्। जय नेपाल हल, गोपिकृष्ण मुभिज, काठमाडौं जेसिस, नेपाल स्काउट, राष्ट्रिय नाचघर, सिटी सेन्टर, सिद्धार्थ बनस्थली स्कुल, साझा भण्डार भोटाहिटी, रञ्जना ट्रेड सेन्टरलगायत छन्।
दिइएको समयमा कर नबुझाए महानगरको राजश्व दाखिला ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गर्ने, सम्पति रोक्का गर्नेलगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानूनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।


