एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि पाहुना टोली बार्सिलोनाले ४-० अन्तरको सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो ।
जाभीको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले २ तथा रोनाल्ड अरुजो र फेरान टोरेसले समान १/१ गोल गरे ।
खेलको २९औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३८औं मिनेटमा रोनाल्डले गोल गर्दा रियल घरेलु मैदानमा सुरुवातमै २-० ले पछि रह्यो ।
४७औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।
उक्त हारका बाबजुद रियल शीर्ष स्थानमा यथावत छ । उसको ६६ अंक रहेको छ ।यता जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान अंक भएको एथलेटिको मड्रिड गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ ।


