चैत २२ काठमाडौं । एएफसी कप-२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग २-१ गोलले पराजित भएको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र २-१ गोलले पराजित भएको हो ।
ब्लु स्टारको जितमा मोहम्मद इहसान र शेनल सन्देशले १/१ गोल गरे । यता मछिन्द्रको लागि खेलको अतिरिक्त समयमा कप्तान सुजल श्रेष्ठले गोल गरे पनि हार भने टार्न सकेनन् ।
खेलको २४औं मिनेटमा ब्लु स्टारको लागि एके मोहम्मद इहसानले गोल गरि १-० गोलको अग्रता दिलाए । त्यस्तै खेलको २८औं मिनेटमा पुनः ब्लु स्टारको लागि शेनल सन्देशले गोरि खेलमा २-० गोलको अग्रता दिलाए ।
त्यसअघि १४औं मिनेटमा मछिन्द्रका ओमोलाजा करीमले फल गरे पछि ब्लु स्टारले पेनाल्टीको अवसर पाएको थियो । जसमा १५औं मिनेटमा अरेपाडे ओम्बेबे प्रहार गरेको पेनाल्टी मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले विफल पारेका थिए ।
उक्त जितसँग ब्लु स्टारले दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । यता पराजित मछिन्द्र भने बाहिरिएको छ ।


