आइतबार, भाद्र २८ गते २०८३
images

नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन्छ : राखेप सदस्यसचिव घिसिङ

एक्सप्रेस पाना
बैशाख ४, २०७९ आइतबार
  • 447
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन्छ : राखेप सदस्यसचिव घिसिङ

    वैशाख ४ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ नद निर्धारित समयमा हुने बताएका छन् । सदस्यसचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्यसचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन् ।

    images

    नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २२ देखि २८ जेठसम्म हुँदै छ । ‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ । हुन्छ कि हुँदैन भन्ने संशय नराख्नु होला । आ-आफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु ।’ 

    सदस्यसचिव घिसिङले भने, ‘प्रतियोगिता र पूर्वाधारको व्यस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो । त्यसैले पहिलो पटक बैठक बोलाइएको हो । बैठकले आगामी बोर्ड बैठकका लागि एजेन्डा तय गर्न पनि सहज हुन्छ । अन्तिम बोर्ड बैठक २०७५ सालमा बसेको थियो । त्यसपछि बोर्ड बैठक बस्न सकेको छैन । मेरो नियुक्तिको अवधि चार महिना बढी भए पनि मुद्दाका कारण काम गरेको एक महिना पनि भएको छैन । समन्वय समितिको बैठक आज बस्यो । अब बोर्ड बैठक पनि चाँडै बस्छ ।’

    images

    सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै बैठकको मुख्य उद्देश्य नवौं राष्ट्रिय खेलकुद नै भएको बताए । उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए ।

    बैठकमा सहभागी प्रदेशका सदस्यसचिवहरूले कर्मचारी व्यवस्थापन गरिदिनुपर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नुपर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १/२ खेल थप्न पाउने प्रावधान बनाउनुपर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नुपर्ने, ऐनमा भएका जटिलतालाई फुकाउनुपर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनुपर्ने, गण्डकी प्रदेशका सबै जिल्लाले अपनत्व गर्ने गरी सबै जिल्लामा प्रतियोगिता सञ्चालन गर्नु पर्नेलगायतका विषयमा धारणा राखेका थिए ।

    राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले राष्ट्रिय खेलकुदको महत्व, सहभागी हुने टिम, खेल संख्या, खेलाडीलगायत सहभागी संख्या, नवौं राष्ट्रिय खेलकुदको स्वरुपलगायतका विषयमा प्रकाश पारेका थिए ।

    बैठकमा प्रदेश १ खेलकुद परिषद्का सदस्यसचिव हंशराज वाग्ले, बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सन्ज्याल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंह, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ तथा नेपाल प्रहरी, नेपाली सेना र एपीएफका प्रतिनिधि उपस्थिति थिए । मधेस प्रदेशमा भने सदस्यसचिव नियुक्त भई नसकेकाले महिला, बालबालिका तथा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहाल बैठकमा उपस्थिति थिए ।