वैशाख २६ काठमाडौं । भारतमा जारी १५ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल) हिजोको दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ९१ रनको फराकिलो अन्तरले पराजित गरि साबिकको बिजेता चेन्नाई सुपर किंग्सले प्लेअफ सम्भावना कायमै राखेको छ ।
नबी मुम्बईको डि वाई पाटिल स्टेडियम टस हारेर ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो । उसका लागि ओपनर डेभन कन्वेले ५ टक्का र ७ चौकाको मद्दतमा ४९ बलमा ८७ रनको अर्धशतकिय ईनिङ खेले । अर्का ओपनर रितुराज गायकवाडले ३३ बलमा ४१ रन बनाए भने शिभम दुवले १९ बलमा ३२ रन बनाए । खेलको अन्त्य तिर ब्याटिङमा आएका कप्तान महेन्द्र सिंह धोनीले ८ बलमा २१ रन बनाए। दिल्लीका एनरिच नार्कियाले ३,खलिल अहमदले २ तथा मिचेल मार्सले १ विकेट लिए ।
२०९ रनको लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा ११७ रनमा नै समेटियो । दिल्लीका लागि मिचेल मार्सले २५ रनको सर्वाधिक ठूलो ईनिङ खेल्दा सार्दुल ठाकुरले २४ रन बनाए दिल्लीका सात जना ब्याटरले दोहो अंकमा रन बनाउन सकेनन् । दिल्लीलाई कम रनमा नै रोक्न चेन्नाईका मोईन अलिले ४ ओभरमा १३ रन मात्र दिएर ३ विकेट लिए भने मुकेश चौधरी, सिमरजित सिंह तथा ड्वेन ब्राबोले समान २ विकेट लिए । महेश तिक्षणाको नाममा १ विकेट रह्यो ।
उक्त जितसँगै चेन्नाई ११ खेलमा ८ अंक सहित १ स्थान माथी ८ औं स्थानमा उक्लिएको छ भने हार सँगै दिल्ली पनि ५ औं स्थानमा कायम नै रहेको छ ।


