आइतबार, भाद्र २८ गते २०८३
images

घरेलु मैदानमा पहिलो टि २० श्रृंखला खेल्दै महिला टिम

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 357
    SHARES
  • घरेलु मैदानमा पहिलो टि २० श्रृंखला खेल्दै महिला टिम

    जेष्ठ १ काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा टि २० अन्तरराष्ट्रिय श्रृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ । 

    images

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको श्रृंखला लागि युगान्डा टिम आज (आइतबार) नेपाल झर्दैछ । नेपाल झरेको भोलिपल्ट (सोमबार) नै युगान्डाले घरेलु टोली नेपालको सामना गर्दैछ । खेल दिउँसो १ बजे हुनेछ । 

    प्रशिक्षक जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले गर्नेछिन् । जुन टिममा केही अनुभवी खेलाडी रहँदा धेरै खेलाडी भने युवा छन् । जो अवसरको खोजीमा छन् । 

    images

    सन् २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला क्रिकेट टिमको अन्तरराष्ट्रिय क्षेत्रमा उदय भएको थियो । त्यसयता, नेपाली टिमले घरेलु मैदानमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्यो । जहाँ कास्य पदक जितेको थियो । 

    नेपाली टिमका प्रशिक्षक जगत टमटा खेलाडी पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय श्रृंखला खेल्न आतुर रहेको बताउँछन् । यस्तै, उनी घरेलु मैदानमा खेल्न युवा खेलाडीलाई ‘च्यालेन्ज’ हुने समेत जनाउँछन् ।  ‘घरेलु मैदानमा खेल्न आतुर छन् । युवा खेलाडी समेत रहेकाले आफ्नै मैदानमा खेल्न ‘च्यालेन्ज’ पनि छ ।’ पुरुष टिमको प्रशिक्षक समेत रहेका टमटा भन्छन् । 

    टमटा युवा खेलाडीलाई अवसर दिँदा भविष्यमा धेरै खेलाडी आउने समेत बताउँछन् । ‘युवा खेलाडी निकै क्षमतावान छन् । यस्ता खेलाडीले अवसर पाउँदा पछि टिम बनाउन समेत सहज हुनेछ । यो एउटा श्रृंखला हैन । वर्षमा यस्ता ५–६ श्रृंखला भए राम्रो टिम र धेरै खेलाडी बनाउन सकिन्छ ।’ 

    प्रशिक्षक टमटाले श्रृंखलाको लागि १६ सदस्यीय टोली घोषणा गरेका छन् । जसमा अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । बागमती प्रदेशको कप्तानी गर्दै आएकी तीव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा रहे पनि पहिलो पटक स्थान बनाएकी हुन् । यता, यु–१९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो अवसरमै टोलीमा स्थान बनाएकी छन् ।  

    यसअघि नेपालले पहिलो अन्तरराष्ट्रिय टि२० श्रृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको श्रृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो । प्रशिक्षक टमाटा दुवै टोलीको स्तर उस्तै रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताउँछन् । हाल नेपाल आईसीसी टि२० वरियतामा १६औँ स्थानमा छ भने युगान्डा १९औँ स्थानमा छ । 

    ‘युगान्डा र हाम्रो स्तर बराबर छ । दुवैमा युवा खेलाडीको सम्मिश्रण छ । खेल प्रतिस्पर्धात्मक हुन्छ ।’ टमटा भन्छन् ।

    नेपाल र युगान्डाबीचको खेल भोलि ९सोमबार०बाट सुरु हुनेछ भने ३ जेठमा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौँ ७ जेठमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेलका हेर्न दर्शकलाई मैदान प्रवेश नि:शुल्क समेत गरिएको छ । 

    यता, नेपाली टिमकी सदस्य ईन्दु बर्मा टिमको तयारी राम्रो भएको र यस्ता श्रृंखला खेलाडीको लागि क्षमता प्रदर्शन गर्न आधार रहने बताउँछिन् । ‘तयारी राम्रो छ । यस्तो श्रृंखला हुँदै गए महिला टिम राम्रो हुँदै जानेछ र यसरी खेल्न पाए क्षमता देखाउने छौं ।’ 

    नेपाली टोली 

    रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, ईन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा,  सरिता राना मगर, हिरणमयी रोय, बिन्दु रावल ।