जेठ १० काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानको जिम्मेवारी अग्रपक्तिका खेलाडी नवयुग श्रेष्ठले पाएका छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार आगामी महिना कुबेतमा हुने एसिया कप फुटबल छनोट खेलबाट उनको कप्तानी सुरुवात हुनेछ । यसको तयारीका लागि नेपाली टोली बुधबार कतार उड्नेछ । अफगानिस्तान कतार आउन असक्षम रहे पश्चात तयारी स्वरुप नेपालले खेल्ने भनिएको दुई मैत्रीपूर्ण खेल स्थगित भैसकेको छ । कतारमा नेपालले बाँकी तयारी सक्नेछ ।
एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नियमित कप्तान किरण चेम्जोङसहितका १० सिनियर खेलाडी बाहिर राख्दै २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।
नेपाली टोली : नवयुग श्रेष्ठ (कप्तान) दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा, विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल, आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी, आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी


