काठमाडौं । १५औं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)मा गुजरात टाईटन्स फाइनल पुग्ने पहिलो टोली बनेको छ ।
गयराती भएको पहिलो क्वालिफायरमा राजस्तान रोयल्सलाई पराजित गरि पहिलो सहभागीतामा नै टोली फाइनल पुगेको हो ।
कलकत्तामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका लागि ओपनर जोस बटलरले ५६ बलमा ८९ रनको ईनिङ खेले यसका २ छक्का र १२ चौका समाहित थियो । सुस्त सुरुवात गरेका बटलरले खेलको पछिल्लो ओभरहरुमा बिस्फोटक ब्याटिङ गरेका थिए ।कप्तान सन्जु सामसनले साई किशोरको बलमा अल्जारी जोसेफको हातबाट समातिनु अघि २६ बलमा ४७ रन बनाएका थिए । देवदत्त पडिकलले २८ रन बनाए ।
गुजरातका लागि हार्दिक पाण्ड्या,साई किशोर,मोहम्मद सामी र एस दयालले समान१ विकेट लिए ।
१८९ रनको लक्ष्य पछ्याएको गुजरातले अन्तिम ओभरको तिन बल बाँकी रहदै लक्ष्य भेट्यो ।उसका डेबिड मिलरले ३८ बलमा ६८ रनको विजयी ईनिङ खेल्दा प्लेयर अफ दि म्याच समेत भए । पहिलो ओभरमा नै रिद्धिमान शाहलाई शुन्य रनमा गुमाएको गुजरातको ईनिङ शुभमन गिल र म्याथु वेडले समालेका थिए । ७२ रनमा शुभमन र ८५ रनमा वेडलाई गुमाएको गुजरातले कप्तान हार्दिक पाण्ड्या र किलर मिलरको शतकीय साझेदारीमा टिमलाई जित दिलाए।हार्दिकले २७ बलमा ४० रन बनाए भने शुभमन गिल र म्याथु वेडले ३५ \ ३५ रन बनाए। अन्तिक ओभरमा जितका लागि १६ रन आवश्यक रहेकोमा मिलरले लगातार तिन छक्का प्रहार गरि टिमलाई जित दिलाए ।
उक्त जितसँगै आईपिएलको पहिलो सहभागितामा नै गुजरात फाइनल पुगेको छ भने पराजित राजस्तानले पनि फाइनल प्रवेशको अर्को मौका पाउने छ उसले आज हुने लखनउ सुपर जायन्टस् र रोयल च्यालेन्जर्स बेंगलोरको विजेतासँग आगामी शुक्रबार खेल्नेछ । फाइनल खेल आगामी आईतबार अहमदाबादमा हुनेछ।


