बुधबार, कार्तिक १९ गते २०८३
images
images

मेलम्चीको पानी छिटो ल्याउन उच्चस्तरीय भ्रमण

एक्सप्रेस पाना
कार्तिक २८, २०७९ सोमबार
  • 158
    SHARES
  • मेलम्चीको पानी छिटो ल्याउन उच्चस्तरीय भ्रमण

    काठमाडौं । अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा छिटो ल्याउन उच्चस्तरीय भ्रमण भएको छ। मेलम्चीको पानी ल्याउने गरिएको तयारी हेर्न आइतबार सो टोली पुगेको हो।

    images

    भ्रमणमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सचिव तथा सहसचिवहरुको सहभागिता रहेको थियो। उनीहरुले काठमाडौं उपत्यकामा पानी ल्याउन गरिएको तयारीको बारेमा निरीक्षण गरेर आएका छन्।

    टोलीले जति सक्दो चाँडो प्रक्रियाहरु पुरा गरेर उपत्यकामा पानी ल्याउन निर्देशन दिएका छन्। चुनावपछि मात्र उपत्यकामा ल्याइने आयोजना कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए।

    images

    पन्तका अनुसार वर्षा सकिएकाले अस्थायी रुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ। यसवर्ष हेडवर्क्स डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो। यो वर्ष सुरुङमा समस्या भएको छैन।

    'मेलम्ची बजारबाट खानेपानी आयोजना स्थलमा पुग्ने करिब ८ किलोमिटर पहुँचमार्गको सडक वर्खामा भत्किएको थियो। हाल सोही सडक मर्मत भइरहेको छ,' उनले भने। यो सडक मर्मत नभएसम्म मेसिनलाई आयोजना स्थलमा पुर्‍याउन नसक्दा पानी ल्याउन ढिलाई भएको हो। 

    यसैगरी उपत्यकामा मेलम्चीको पानी जाने पाइपलाइनहरु पनि परीक्षण गरिएको आयोजनाले जनाएको छ। 'अहिले उपत्यकाको विभिन्न स्थानमा मेलम्चीको पानी जाने पाइपलाइन निरीक्षण गरिँदै छ,' पन्तले भने।