काठमाडौँ । नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको 'आइएमई' स्थापनाको २३ वर्ष पुरा भएको छ । २४ औँ वर्ष प्रवेश गर्दा आइएमई लिमिटेड रेमिटेन्स क्षेत्रको सबैभन्दा ठुलो र विश्वसनीय कम्पनीको रूपमा स्थापित हुन सफल भएको छ ।
बुधवार स्थापनाको २४ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा “डिजिटल रुपान्तरणलाई अंगाल्दै” भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सह-सस्थापक तथा प्रबन्ध निर्देशक हेम राज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिटेन्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्राउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान गर्न पुर्याउने कम्पनीको रूपमा आइएमईले योगदान गरिरहेको बताए ।
रेमिटेन्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि प्रबन्ध निर्देशक ढकालले उल्लेख गरे।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
साथै अध्यक्ष ढकालले २४ वर्षको यात्रामा निरन्तर सहयोग गर्नुहुने सेवाग्राहीहरू, नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क, नियमनकारी निकायहरू, व्यावसायिक साझेदारहरू, कर्मचारीहरू लगायत सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गरे । अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने पनि उल्लेख गरे।
त्यसै गरी आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए। प्रविधिमा भएको विकासलाई आत्मसाथ गर्दै विविधिकृत सेवाहरूको मध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रुपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।


