काठमाडौं । पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ ।
ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरिएको हो ।
चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा लास राख्न सकिने छन् । थपिएको शव गृहको बारेमा जानकारी दिन आइतबार अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिको लागि सहयोग गरेको बताए ।
महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउँदै उनले भने,‘पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमी हुन दिने छैनौं ।’
पाटन अस्पतालसँग कोभिडको बेलापनि महानगरले सहकार्य गरेको स्मरण गर्दै बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र अन्तर्गत संचालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेको बताए ।
अस्पतालका निर्देशक प्राडा रवि शाक्यले शव गृहको स्तरोन्नतिका लागि अपस्पतालसँग सहकार्य गरेकोमा महानगरलाई धन्यवाद दिए । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लागेपनि मृत्युपछि पनि धेरैवटा विषयलाई ध्यान दिनुपर्ने उनले बताए ।
उनले भने, ‘कहिलेकाहीं लासमाथि लाख खप्टेर राख्नुपथ्र्यो, अब त्यस्तो अवस्था आउँदैन ।’ लास खप्टेर राख्दा छिटो कुहिनेदेखि विभिन्न खालका समस्यासँग झेल्नु पथ्र्यो ।
अस्पतालका फरेन्सिक विज्ञ डा.सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शव गृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताउँदै महानगरले सहयोग गरेकोमा धन्यवाद दिइन् ।



