मंगलबार, श्रावण १२ गते २०८३
images
images

ललितपुर महानगरमा नयाँ प्रविधि:आगलागी आपतकालीन सूचना प्रणाली प्रयोगमा

एक्सप्रेस पाना
कार्तिक २५, २०८२ मंगलबार
  • 254
    SHARES
  • ललितपुर महानगरमा नयाँ प्रविधि:आगलागी आपतकालीन सूचना प्रणाली प्रयोगमा

    काठमाडौं । ललितपुर महानगरपालिकाले आगलागी आपतकालीन सूचना प्रणालीको जडान गरेको छ । 

    images

    मंगलबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनद्वारा आपतकालीन सूचना प्रविधिको डेमोसहित उद्घाटन गरिएको हो ।

    जुद्ध वारुण यन्त्र कार्यालयमा तुरुन्त सूचना पुग्ने अर्लट सिस्टम जडान गरिएको हो । आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने वित्तिकै स्विच सक्रिय भई साइरन बच्ने र मोबाइलमा सन्देश पठाउनसक्छ । 

    images

    उक्त सिस्टमको डेमो उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख महर्जनले डेमो स्वरुप जडान गरिएको प्रणालीले राम्रो काम गरे प्रत्येक चोकमा आपतकालीन सूचना प्रणालीको जडान गरिने बताए ।  

    ‘यस्तो प्रविधिले ठ्याक्कै लोकेशन बताउँछ । यो काम हाम्रा वैज्ञानिक साथीहरुको हो । तसर्थ यस्तो आविस्कारलाई पाटन दरवार क्षेत्र र पाटन अस्पतालमा जडान गर्ने उहाँको स्पोन्सर हो । हामीले डेमो गर्न खोजेका हौं । यसले राम्रो काम गरेको अवस्थामा ललितपुर महानगरपालिकाको प्रत्यक चोक चोकमा स्विच जडान गर्नेछौ,’ उनले भने । 

    उनले महानगरसँग दुईवटा अत्याधुनिक मझौला खालको दमकल रहेको भन्दै त्यसले प्रभावकारी काम गरेको समेत बताए । 
    उनले जेनजी आन्दोलनका क्रममा सिंहदरवार, सर्वोच्च अदालत लगायतको क्षेत्रमा आगलागी हुँदा ७९ पटक दमकल आगो लगाउन गएको बताए । 

    यस्तै, आगलागी आपतकालीन सूचना दिने स्मार्ट प्रतिक्रिया प्रणालीको आविस्कार गरेका सुमन पौडेलले एक क्लिकमा सूचना सम्बन्धित निकायमा पुग्न सकोस् भनी यसको आविस्कार गरेको बताए । 

    ‘वत्ती गयो भने १२ घण्टासम्म पनि फरक पर्दैन । अहिले डेमोमा राखिएको भएर ४८ घण्टासम्म अन हुने सिस्टममा छ । सिस्टम चलेको नचलेको हाम्रो कन्ट्रोल रुमबाट हेर्न सक्छौ । यसबाट नै ब्याट्रि चार्जका बारेमा पनि खबर गर्न सकिन्छ,’ उनले भने ।

    प्रयोगमा ल्याइएको यस्तो सिस्टमले दुई तरिकाले काम गर्ने गरेको छ । एसओएस रातो बटन थिचेर म्यानुलबाट र एलएमसी अर्लट मोबाइल एपबाट सूचना लिन सकिन्छ । उक्त सूचना महानगर प्रहरी बलमा राखेको स्मार्ट बोर्डको एलएमसी एपमा जानकारी र साइरन बज्ने व्यवस्था मिलाइएको छ । 

  • सम्बन्धित विषय:

  • # ललितपुर महानगर
  • # चिरीबाबु महर्जन