मंगलबार, श्रावण १२ गते २०८३
images
images

सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

एक्सप्रेस पाना
पौष ३०, २०८२ बुधबार
  • 114
    SHARES
  • सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

    रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।

    images

    प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

    लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिए ।
    उक्त सवारी साधन गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत पर्ने टुनी भञ्ज्याङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

    images

    वडा अध्यक्ष भ्लोनका अनुसार लुटिएको रकममध्ये दुई बोरा पैसा बरामद गरिएको छ। यद्यपि, हालसम्म कति रकम बरामद भएको हो भन्ने यकिन हुन सकेको छैन। बरामद सवारी साधन र रकम हाल इलाका प्रहरी कार्यालय बस्तिपुरमा राखिएको छ।

    लुटपाटमा संलग्न अन्य व्यक्ति भने जंगलतर्फ फरार भएकाले उनीहरूको खोजीका लागि व्यापक खोजतलास अभियान जारी रहेको प्रहरीले जनाएको छ। हतियारसहित बैंकमा प्रवेश गरी कर्मचारी तथा सुरक्षागार्डको हातखुट्टा बाँधेर लुटपाट गरिएको यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।