काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रुपन्देहीस्थित बालसुधार गृह तत्काल स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।
हाल सञ्चालनमा रहेको भवन साँघुरो र बालसुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो ।
आइतबार बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले उपसमितिको स्थलगत अनुगमनका क्रममा प्राप्त सुझावका आधारमा हालको बालसुधार गृह तत्काल स्थानान्तरण गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले हाल बालसुधार गृह रहेको भवन जिल्ला समन्वय समिति रुपन्देहीलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरिन् ।
समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ ।



