मंगलबार, श्रावण १२ गते २०८३
images
images

फ्री भिसा फ्री टिकटलाई प्रभावकारी बनाउँदै सरकार

एक्सप्रेस पाना
श्रावण ८, २०८३ शुक्रबार
  • 107
    SHARES
  • फ्री भिसा फ्री टिकटलाई प्रभावकारी बनाउँदै सरकार

    काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यवहारिक नीति लागु गरिने घोषणा गरेका छन् ।  

    images

    युवा, श्रम तथा रोजगार मन्त्रालय र आइओएमको आयोजनामा पाँचौँ नेपाल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारले सन् २०१५ देखि लागू भएको फ्री भिसा फ्री टिकट नीति कागजमा मात्र सीमित भएकोले यसलाई व्यावहारिक बनाउन सरकारले पुनरावलोकन गर्ने प्रक्रिया सुरु गरेको बताएका हुन । 

    'वैदेशिक रोजगार ऐन २०६४ लाई प्रस्तावित संशोधित मस्यौदा पारित भएपछि पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई थप कडा सजायको व्यवस्था  गरिनेछ।' उनले भने, 'प्रस्तावित ऐन स्वीकृत भएपछि भर्ना प्रक्रियालाई थप पारदर्शी, जबाफदेही र अनुगमनयोग्य बनाउन यसलाई पूर्ण रूपमा डिजिटलिकरण गरिने छ।'

    images

    मन्त्री यादवले आफ्नो १०० दिने कार्यकालको अनुभव सुनाउँदै मन्त्री हुनुअघि नै यो नीतिको कार्यान्वयनमा समस्या देखेको र अहिले यसलाई वैज्ञानिक रूपमा नियमन गर्न एक उच्च स्तरीय कार्यदल गठन गरिएको जानकारी दिए । 

    कार्यक्रममा आइओएमका तर्फबाट चिफ मिसन अफिसर  हेलेन फोर्सले  नेपालले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा  उत्कृष्ट नेतृत्व प्रदर्शन गरिरहेको बताए । उनले भने,नेपालले सुरक्षित र व्यवस्थित आप्रवासनका लागि विश्वव्यापी मञ्चहरूमा आफ्नो प्रतिबद्धतालाई राष्ट्रिय कार्य योजनामा उतार्दै बलियो नेतृत्व देखाएको छ। उनले आइओएम नेपाल सरकारको यो यात्रामा सँगै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

    श्रमिकहरूको समस्या समाधानका लागि युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागमा मार्फत 'उजुरी डट डिओएफइ' नामक अनलाइन प्लेटफर्म सुरु गरेको छ। 

    कार्यक्रममा मन्त्री यादवले श्रमिकहरूले वैदेशिक रोजगारीमा जान चर्को ब्याजमा ऋण लिने, जग्गा जमिन बेच्ने वा श्रीमतीको गहना धितो राख्ने गरेको 'तीतो यथार्थ' प्रस्तुत गरे । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको एक अध्ययनका क्रममा धेरै श्रमिकहरूले रोजगारी गुम्ने डरले आफूले तिरेको वास्तविक रकम बताउन समेत डराएको पाइएको उल्लेख गर । 

    हाल नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब ७ प्रतिशत मात्र नैतिक रूपमा (बिना शुल्क) भर्ना भइरहेको अनुमान छ। 

    सरकारको अन्तिम लक्ष्य १०० प्रतिशत एम्प्लोयर पे (रोजगारदाताले नै खर्च बेहोर्ने) मोडेलमा पुग्नु रहेको मन्त्रीले स्पष्ट पारे। यसका लागि म्यानपावर कम्पनीहरूबिचको अस्वस्थ प्रतिस्पर्धा रोक्ने र प्रत्यक्ष भर्ना प्रक्रियालाई प्रोत्साहन गर्ने रणनीति लिइनेछ ।

    वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधान गर्न नेपाल एक्लैले समाधान गर्न नसक्ने बताउँदै मन्त्री यादवले फिलिपिन्स जस्ता देशका असल अभ्यासहरू सिक्न र सरोकारवालाहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । 

     

  • सम्बन्धित विषय:

  • # फ्री भिसा फ्री टिकट