शुक्रबार, भाद्र २६ गते २०८३
images

पूर्वमिस युनिभर्स नेपाल नग्मा श्रेष्ठ भन्छिन्- नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा ट्रफी दिलाउने सपना छ 

एक्सप्रेस पाना
कार्तिक १६, २०७८ मंगलबार
  • 273
    SHARES
  • पूर्वमिस युनिभर्स नेपाल नग्मा श्रेष्ठ भन्छिन्- नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा ट्रफी दिलाउने सपना छ 

    कात्तिक १६ काठमाडौं । सन् २०१२ मा मिस नेपाल अर्थ भएकी नग्मा श्रेष्ठ सन् २०१७ मा 'मिस युनिभर्स नेपाल' घोषित भइन् । हिडेन ट्रिजरले आयाेजना गरेकाे मिस नेपालमा फस्ट रनर्सअपको ताज पहिरेकी उनी मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा अगाडि पुग्ने नेपाली सुन्दरी बनेकी थिइन् ।

    images

    नग्माले राष्ट्रिय तीन र अन्तर्राष्ट्रिय चार गरी सात सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्। 'मिस युनिभर्स'मा नेपालको प्रतिनिधित्व गर्ने पहिलो सुन्दरी बनेकी नग्मा यतिबेला 'मिस युनिभर्स नेपाल' को कन्ट्री डिरेक्टर छिन् । विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नग्मा स्वयंले नेपालमा भित्र्याएकी हुन्। 

    'म ब्युटी प्याजेन्ट फ्रिक हुँ', नग्मा भन्छिन्, 'सन् २०१२ देखिको व्यक्तिगत प्रयास सन् २०१६ मा सफल भयो र २०१७ को मिस युनिभर्समा नेपालले पहिलोपटक सहभागिता जनायो ।'

    images

    आफ्नो पहलमा नग्माले प्याजेन्टको नेपाल फ़्रेञ्चाइज भित्र्याए पनि सो समयमा एक्लै गर्न सक्ने सम्भावना थिएन । त्यसैले उनले हिडेन ट्रेजरलाई कन्ट्री डिरेक्टर बनाएर आफूले मिस युनिभर्समा सहभागिता जनाइन् ।

    'सन् २०१२ देखि निरन्तर एकोहोरो मेल गरे तर त्यसको कुनै जवाफ आएन । मैले नेपाल पनि सहभागी हुन चाहन्छ भन्ने सन्देशसहितको मेल धेरैपटक लेखिसकेकी थिएँ । रिप्लाई नआए पनि सन् २०१६ मा एक कार्यक्रमको जज बन्न म अमेरिका पुगेको समयमा मिस युनिभर्सको हेड अफिसमा सम्पर्क कोसिस गरेको फोन पहिलो प्रयासमै उठ्यो र मैले भेट्ने मौका पाएँ', नग्माले न्युज कारखानासँग भनिन् । 

    मिस युनिभर्सको अफिसमा कुराकानी भएर भेट्ने मौका पाएपछि उनलाई अब कन्भिन्स गर्छु भन्ने लाग्यो । डालसबाट काठमाडौं फर्किन पर्ने नग्मा न्युयोर्क पुगिन् । 'त्यो मेल गर्ने केटी तिमी हो?' पहिलो प्रश्न नग्मालाई थियो । मेल हेर्ने रहेछन् तर रिप्लाई किन गरेनन् ? उनको मनमा प्रश्न उब्जिए । 'मैले कन्भिस गरें किन नेपाल सहभागी हुन चाहन्छ भन्ने विषयमा के के भने मलाई नै याद छैन', नग्मा भन्छिन्, 'नेपालमा मिस युनिभर्सको लागि भरपर्दो डिरेक्टर खोज्ने बताएपछि उनीहरू तयार भए ।' सुन्दरता र सुन्दर पक्षहरू प्रस्तुत गर्ने माध्यमको रूपमा सौन्दर्य प्रतियोगितालाई लिने नग्मालाई लाग्छ आफैलाई स्वीकार्न सक्नु सुन्दरता हो। नग्मा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपाल चिनाउने ठूलो प्ल्याटफर्मको रूपमा लिन्छिन् । 

    'देशको परिचय, यहाँको राष्ट्रिय र ऐतिहासिक महत्वको कुरा, प्राकृतिक एवं सांस्कृतिक विविधताको कुरा, नेपालमा भएको फरक जाति र भाषाबीच एकताको कुरालाई प्रस्तुत गर्ने ठाउँ हो', नग्मा भन्छिन्, 'नेपालको प्रतिनिधित्व हुनुको मतलब सहभागीले आफूलाई प्रस्तुत गर्नु होइन, देशलाई प्रस्तुत गर्नु हो।' उनले आफैले सहभागिता जनाइसकेको अनुभवले पनि त्यहाँ पुग्नेलाई गाइड गरिरहेकी छन् । उनले कन्ट्री डिरेक्टर भएर सन् २०२० का लागि अंशिका शर्मालाई मिस युनिभर्समा सहभागी गराइसकेकी छन् भने यसपटक सन् २०२१ का लागि 'मिस युनिभर्स नेपाल' सुजिता बस्नेतलाई तयारी गरिरहेकी छन् । 

    'समय निकै कम छ, त्यसैले सबै तयारीलाई विशेष ध्यान दिएर गराइरहेका छौँ' नग्माले भनिन् । उनको सपना छ, नेपाली ब्युटी प्याजेन्ट होल्डरले अन्तर्राष्ट्रिय मञ्चमा ट्रफी उचालेको हेर्ने । 'म प्याजेन्टमार्फत नेपाललाई अन्तराष्ट्रियस्तरमा पुर्‍याउन चाहन्छु,'उनले भनिन्। 'कठिनाइ छ तर हामी डटेर लागिरहेका छौँ ।' सुजिता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् ।न्युज कारखाना