शुक्रबार, भाद्र २६ गते २०८३
images

मेल भर्सनमा आयो ‘तिमी तारे भीर’, यसरी तयार भएकाे थियाे गीत 

एक्सप्रेस पाना
मंसिर ८, २०७८ बुधबार
  • 462
    SHARES
  • मेल भर्सनमा आयो ‘तिमी तारे भीर’, यसरी तयार भएकाे थियाे गीत 

    मंसिर ८ खोटाङ । ३२ वर्षअघिको कुरा हो । काठमाडाै‌ रातोपुल छेउमा रहेको पुरानो घरको कोठामा संगीतकार शान्तिराम राई र कवि श्रवण मुकारुङ ‘तिमी तारे भीर’ बोलको गीतमा संगीत भर्न व्यस्त थिए । रातको १ बजिसकेको थियो । रात छिप्पिँदै जाँदा पनि राईको देब्रे पाखुराले पुरानो हारमोनियमको पंखा चलाउन छाडेको थिएन । मुकारुङको हात गिटारबाट हटेको थिएन । ‘तिमी तारे भीर’ गाइरहन्छन् उनीहरू, निथ्रुक्कै भिज्छन् दुईका आँखा तर गीत गाउने धित मर्दैनन् उनीहरूको । 

    images

    लगत्तै गायिका पवित्रा सुव्बालाई गाउन दिइयो । गीत स्राेताको मनमुटुमा बस्न सफल भयो । सधै‌ गुनगुनाइहने कालजयी गीत बन्यो । ३२ वर्षपछि उही गीतलाई मेल भर्सनमा गायक रेवत राईको स्वरमा सार्वजनिक गरिएकाे छ । मेल भर्सनमा आएको त्यही गीतले संगीतकारलाई विगत तीन दशक अडाडि फर्काएको छ । ‘तिमी तारे भीर’को संगीत भर्नेक्रममा रुवाएको गीत मेल भर्सनमा आएपछि आफूलाई पुन: रुवाएको संगीतकार राईले सामाजिक सञ्जालमा लेखेका छन् ।

    ‘हातमा गिटार बजाउँदैछ श्रवण । गल्दै जाने देब्रे पाखुराले पुरानो हारमोनियमको कडा पंखा चलाउँदै हुन्छु म,’ राईले लेखेका छन्, ‘रातको १ बजे निथ्रुक्कै भिज्छ आँखा हाम्रो । र, पनि धितै नमर्ने गरी गाइरहेका हुन्छौँ । रातभरि गाएर नथाक्ने तिमीतारे भीर...। ठीक ३२ र्षपछि यही गीतले फेरि रुवायो ।’ 

    images

    कवि तथा गीतकार मुकारुङले लेखेको, गायक तथा संगीतकार राईको संगीत रहेको भिडियोसहितको मेल भर्सनमा देवेश राईले संगीत संयोजन गरेका छन् । दर्जनौं चर्चित गीतमा स्वर दिइसकेका खोटाङका गायक रेवतले गाएपछि पुःन ‘तिमी तारे भीर’ले चर्चा पाएको छ ।

    किरण चाम्लिङ राईको निर्देशनमा तयार पारिएको भिडियोमा चर्चित अभिनेता दयाहाङ राई, मिरुना मगर र बाल कलाकार नुमा राईको अभिनय छ । गीतको भिडियोमा मायाँ, प्रेम र मानिसको जीवनमा हुने वियोगान्त क्षणलाई चित्रण गरिएको छ । 

    भिडियो