वैशाख २३ काठमाडौं । आजबाट तीन वटा नयाँ फिल्मले प्रदर्शन थालेका छन् । दुई नेपाली फिल्म 'लक्का जवान' र 'षटकोण' सहित हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस'ले शुक्रबार एकसाथ प्रदर्शन थालेका हुन्।
यतिबेला हलमा सबैभन्दा धेरै शो बहुप्रतिक्षित हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज २' ले पाएको छ। साम रेइमीको निर्देशनमा बनेको फिल्म मार्वल कमिक्समा आधारित छ। फिल्ममा बेनेडिक्ट कम्बर ब्याच केन्द्रीय भूमिकामा देखिएका छन्। यसअघि २०१६ मा प्रदर्शनमा आएको डक्टर स्ट्रेन्जको पहिलो भागले नेपालमा राम्रो कमाइ गरेको थियो।
फिल्मले हलमा ६० देखि ८० प्रतिशतसम्म शो पाएको छ। यससँगै केजिएफ च्याप्टर २ को चार हप्ता लामो दबदबा सकिएको छ। केजिएफ २ को शो घट्दा गत हप्ता मात्रै प्रदर्शनमा आएका बलिउड फल्म हिरोपन्थी २, रन वे ३४ र नेपाली फिल्म मन्त्रु हलबाट उत्रिएका छन्। फिल्मको पहिलो दुई दिनको प्रि बुकिङ तीव्र भएको छ।
डक्टर स्ट्रेन्जुले सर्वाधिक शो पाउँदा दुई नेपाली फिल्मले भने मल्टिप्लेक्समा अत्यन्त न्यून शो पाएका छन्। शिवहरि पौडेलको लेखन तथा निर्देशनमा बनेको कमेडी ड्रामा लक्का जवानु र मिलन डि काप्रीको निर्देशनमा बनेको षटकोणुले डक्टर स्ट्रेन्जुका कारण कम शो पाएका हुन्।
हास्य टेलिशृंखलाबाट लेखन, निर्देशन र अभिनय थालेका शिवहरिले लक्का जवानु मार्फत फिल्म लेखन तथा निर्देशनमा डेब्यु गरेका हुन्। फिल्ममा दिलिप रायमाझी, प्रियंका कार्की, मदनकृष्ण श्रेष्ठ, किरण केसी, वर्षा सिवाकोटी, सलोन बस्नेत लगायत कलाकार छन्।
त्यस्तै मिलन डि काप्रीको निर्देशनमा बनेको पहिलो फिल्म षटकोणुमा कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सयुशा अधिकारी, विराज कदरिया लगायतको अभिनय छ।


