नेपाली बजारमा बीवाईडीको बिजुली गाडी एटो ३ भित्रिएको छ । काठमाडौंमा शनिबार एक कार्यक्रमबीच नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले प्रिमियम एसयूभी एटो ३ सार्वजनिक गर्यो । केही दिनअघि मात्रै भारतमा सार्वजनिक यस एसयूभीले विद्युतीय गाडीको भीडमा सबैभन्दा धेरै मन जित्ने विश्वास रहेको साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठको भनाइ छ ।
कम्पनीले नेपाली बजारमा यसको सुरुवाती मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकेको छ । यसमा ६०.५ किलोवाटयुक्त ब्याट्री जडान गरिएको छ । एक पटक पूरा चार्ज गर्दा ४२० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दाबी छ । नेपालमा उपलब्ध बीवाईडीका कारमध्ये यसमा सबैभन्दा शक्तिशाली मोटर जडान गरिएको कम्पनीले जनाएको छ ।
उक्त मोटरले अधिकतम १५० किलोवाट पावर र ३१० एनएम टर्क उत्सर्जन गर्दछ । गाडीले ७.३ सेकेन्डभित्रै शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति लिने पनि कम्पनीले बताएको छ । सुरक्षाका लागि एटो ३ मा ७ वटा एयरब्याग उपलब्ध गराइएको छ । नेपाली बजारमा नीलो, हरियो, रातो, खैरो र सेतो गरी पाँच रङमा गाडी उपलब्ध रहने बताइएको छ ।
.jpg)


