बुधबार, कार्तिक १९ गते २०८३
images
images

भारतबाट आयात हुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायाे

एक्सप्रेस पाना
कार्तिक ४, २०७९ शुक्रबार
  • 225
    SHARES
  • भारतबाट आयात हुने सयपत्री फूलमा सरकारले प्रतिबन्ध लगायाे

    कार्तिक ४ काठमाडौं । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा विशेषगरी सहरी क्षेत्रमा झन्डै ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेकोमा यो वर्ष सयपत्री फूल आयातमा सरकारले रोक लगाएको फ्लोरिकल्चर एसोसिएशन नेपालले बताएको छ । 

    images

    बुधवार बिहीवारदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १५औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०७९ कार्यक्रममा बोल्दै फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताउनुभयो । उहाँले नेपाल अहिले फूलमा ९० प्रतिशत आत्मनिर्भर भएको बताउनुभयो । विगतका वर्षहरूमा तिहारमा सयपत्री फूल भारतका विभिन्न नाकाबाट आयात हुने गरेको भए पनि यो वर्ष रोक लगाएको उहाँको भनाइ छ । 

    उहाँले भन्नुभयो, ‘नेपाल ९० देखि ९१ प्रतिशत पुष्प व्यवसायमा आत्मनिर्भर छ । विशेष गरेर भ्यालेन्टाइन डे, तिहार र जाडो मौसममा प्रतिकूल रहने हुँदा केही फूल आयात गर्न बाध्य छौँ । नेपालमा अहिलेसम्म कुनै पनि हाइब्रिड बिउको स्रोत नभएको र टिसु कल्चरबाट बिउ उत्पादन नहुने भएकाले आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । अझै १० वर्षसम्म १० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहन्छ । अनियन्त्रितरूफमा पर्वहरूमा फूलको आयात भइरहेको छ, त्यसमा सरकारको ध्यान जान आवश्यक छ ।’

    images

    कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले पुष्प व्यवसायमा लगानी र प्रविधि ल्याउन सके विश्वका सबै प्रकारका फूल नेपालमा नै उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले पुष्प व्यवसायमा देश आत्मनिर्भर मात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । पुष्प व्यवसायमा लगानीको प्रतिफल राम्रो रहेकाले यस व्यवसायबाट नै आर्थिक समृद्धि आउन सक्ने उहाँको भनाइ छ ।

    कृषि विभागका उपमहानिर्देशक डा। हरिबहादुर केसीले नेपाल वनजङ्गलमा रहेका फूलहरूलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय फूलको माग र उत्पादन बढ्दै गएको बताउनुभयो । फूल आयात–निर्यातका लागि नीति परिवर्तन गर्नुपर्ने भए सरकार तयार रहेको उहाँको भनाइ छ । 

    त्यस्तै कलाकार हरिवंश आचार्यले देशमा पुष्प व्यवसाय आत्मनिर्भर बनाउने मात्रै नभएर आयआर्जन गर्ने उद्योगको रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली वनजङ्गलमा फूलेका फूलहरूलाई व्यवसायीकरण गर्न सके पुष्प व्यवसायमा ठूलो योगदान दिनसक्ने बताउनुभयो ।