बुधबार, कार्तिक १९ गते २०८३
images
images

आज काग तिहार मनाइदै

एक्सप्रेस पाना
कार्तिक ६, २०७९ आइतबार
  • 315
    SHARES
  • आज काग तिहार मनाइदै

    काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज काग तिहार मनाइदै छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    images

    यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ६ गते आइतबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शनिबार शुरु गरिएको हो ।

    आइतबार बेलुकी ०५: ०४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ०५:०४ बजेपछि चतुर्दशी तिथि लाग्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने ।

    images

    त्यसैगरी आज धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ ।

    कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

    कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

    गाईपूजा कात्तिक ८ गते मङ्गलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।   

    रत्नपार्कमा १९औँ ‘काग सम्मेलन’ हुदै
    काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ ।

    ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो । सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम  छ । दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए ।

    विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन् । “कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत् पर्यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्”, उनले भने ।

    काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ ।

    भाइटीका कात्तिक १० गते ११: ३७ बजे उत्तम साइत
    कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११: ३७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक १० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

    झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले सहरमा घुम्दा मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

    यस अवसरमा विकृतिका रूपमा फैलिएको पटाका पड्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपड्काई सभ्यरूपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरे पनि पड्किन भने छोडेको छैन ।