भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका एकै गाउँका चारको मृत्यु भएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको ज्यान गएसँगै मृतकको सङ्ख्या चार पुगेको हो ।
मङ्गलबार दिउँसो भूमिकास्थान-२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएकामा उपचारका लागि लैजाँदै गर्दा बाटो र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले बताउनुभयो ।
आगलागीमा परी घाइते भएका तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पताल पुगेपछि मृत्यु भएको उपचारमा संलग्न स्थानीय विष्णु वेल्वासेले बताउनुभयो । साथै ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएका छन् । सन्धिखर्क नगरपालिका-४ वाङलामा रहेको मुस्लिम बस्तीमा आगालागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन् । कम्तीमा चार भैँसी जलेका छन् । कुखुरा फर्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका आठ घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ ।
.jpg)


