शुक्रबार, कार्तिक २१ गते २०८३
images
images

बडादशैं सुरु: आज घटस्थापना, कति बेला छ घटस्थापनाको शुभ साइत ?

एक्सप्रेस पाना
आश्विन २८, २०८० आइतबार
  • 276
    SHARES
  • बडादशैं सुरु: आज घटस्थापना, कति बेला छ घटस्थापनाको शुभ साइत ?

    काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ।

    images

    बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

    आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ।

    images

    जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद्हरु बताउछन्। कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ।

    कति बेला छ घटस्थापनाको शुभ साइत?
    बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

    नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। दिन बिहान ११: २९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले  जानकारी दिएका छन्।

    घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०: ३७ बजे देवी विसर्जनको साइत रहेको छ।

    देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११: ०२ बजेको साइत दिइएको समितिले जनाएको छ।

    गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु हुँदैछ। कात्तिक पहिलो साता बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ।