काठमाडौँ । केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा सम्मानित भएको छ।
मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो।
सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीबार कम्पनीलाई सम्मानित गरेको हो। सो अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए।
प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गरेको मनकामना दर्शन प्रालिले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेशबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ। कम्पनीले देशका अन्य भागमा पनि केबुलकार सञ्चालन गरिरहेको छ।
.jpg)


