मंगलबार, श्रावण १२ गते २०८३
images
images

सामाजिक सञ्जालले चोरेको मेरो अमूल्य समय

एक्सप्रेस पाना
मंसिर २०, २०८० बुधबार
  • 1.3K
    SHARES
  • सामाजिक सञ्जालले चोरेको मेरो अमूल्य समय

    बिहान सबेरै जुरुक्क उठ्यो, छाम्यो, मोबाइल समात्यो, अनि हेर्ने के त ? मोबाइलमा फेसबुक। न त गीता पाठ छ न पाठ पूजा अनि आराधना। न त कक्षाको तयारी, न त योग र ध्यान। केवल लाइक, कमेन्ट् र सेअर छ, कस्तो बिस्मात ! यो सबै के को लागि? कसका लागि? किन हामी यस्तो गर्दैँछौँ? म किन गर्दै छु? कसैले मेरो समय चोर्‍यो भन्न मिलेन किनकि मेरो मेरो हात र चोर औँलाले मोबाइल थिचेको छ, आँखाले हेरेको छ, कानले सुनेको छ। तसर्थ समय चोरेको भन्दा अनर्थ नलाग्ला।

    images

    एकजना विदेशी साथीले भन्दै थिइन्- उनी फुर्सदको समयमा मात्र सामाजिक सञ्जाल चलाउँछिन्। मैले फेसबुकले मेरो समय चोर्‍यो भन्दा मेरो कुरामा उनी सहमत भइनन्। संसारमा रहेका यावत चिज चलाउन, प्रयोग, उपयोग गर्नका लागि हो। तर, बढी उपयोग गर्‍यो भने सबै कुराले हानी गर्छ।

    दशैतिहारको बिदामा मोबाइल चलाएर बस्ने हो भन्छन् विद्यार्थीहरू। हाम्रा पालामा बच्चाहरू बाहिर गए खतरा हुन्छ भन्ने थियो। अहिले बच्चा कोठाबाट बाहिर निस्केनन् भन्ने खतरा लाग्न थालेको छ। यो सबै समस्याको जड हो, मोबाइलमा भएको इन्टरनेटको गेम तथा सामाजिक साइटहरू। ती गेम तथा साइटमा बच्चाहरू पिङ नै खेल्छन्, त्यसैले घरदेखि बाहिर निस्किनै मान्दैनन्। घर बाहिर नजाने, अरूसँग कुरा नगर्ने, मान्छेसँग बोल्न नजान्ने, कुरा नगर्ने, नसुन्ने भएकाले सिक्न, बुझ्न, जान्न चुकेका छन्। यस्ता भावी पुस्तालेभविष्यमा  देशका लागि के गर्लान्? भन्ने विषय सोचनीय छ।

    images

    फोब्सकाअनुसार, फेसबुकको नसा चुरोटको भन्दा खतरनाक छ। यो सत्य जस्तो लाग्छ। हामी महत्त्वपूर्ण बैठक र कुराकानीको बेलामा समेत मोबाइलमा मेसेज हेर्छौँ। यो कुराले पनि नसा हो भन्ने प्रमाणित हुन्छ।

    के कसरी बिगार्छ फेसबुकले? यो प्रश्नको व्यक्ति व्यक्तिमा अलग किसिमबाट उत्तर आउँला। यद्यपि, यसले सबैलाई बिगारेको छ। पहिलो, एकाग्रताको भंगगर्छ। यो अध्ययन अध्यापन सिकाइको बाधक हो। दोस्रो, समयको नास हुन्छ। फेसबुक, ट्वीटर (एक्स) र टिकटक चलाउँदा समय गएको पत्तै हुँदैन। यसले ऊर्जाशील तथा सृर्जनशील समय बर्बाद हुन्छ। तेस्रो, भ्रामक समाचार (विषय जुन प्रमाणित भएको हुन्न) यस्ता कुरा देखिन्छ र सुनिन्छ। जसबाट विवाद र भ्रम पैदा हुन्छ। चौथो धन पैसाको नास हुन्छ। पाँचौँ यसले अनावश्यक मानिससँग सम्पर्क हुन्छ, जसले गर्दा समस्या निम्त्याउँछ। छैटौँ, यसले व्यक्तिगत निजी कुराहरूको गोपनीयता भंग गर्छ। यस अलावा निरन्तर सञ्जालमा व्यस्त रहँदा आँखा, घाँटी र शरीरलाई हानी गर्छ।

    सामाजिक सञ्जालबाट व्यापार, सम्पर्क, वस्तु, सेवा, प्रचार, घर, परिवारबाट देशविदेशमा फोनबिना सम्पर्क, कुराकानी, सुन्न, देख्न, सकिने अहम् पक्ष पनि छन्। सामाजिक सञ्जाल समाजमा अपराध बढ्न, मानिसमा उत्तेजना, वैरभाव, भडकाव गराउन मद्दत गर्छ। किनकि फेसबुकको कारणले छोडपत्रसमेत भएका अनेकौँ उदाहरण छन्। काटमार, झगडा, मुद्दा यही सानो एपबाट भएको छ। यो कुरालाई हेर्दा मनलाई कायम गर्न नसक्ने जमातलाई झनै घातक छ।

    एकजना भाइ दुई वर्षको छोरा र श्रीमतीसहित मेरो घरमा खाना खान आए। बाबुले खान मानेनन्, युट्युब लगाइदेऊ भनी श्रीमतीलाई भने। अब सामाजिक सञ्जालको प्रयोग कस्तो छ, आफैँ अनुमान गरौँ। विदेशी जसले फेसबुक बनाए, उनीहरू दिनमा १० मिनेट मात्रै चलाउँछन्। तर, हामी १० घण्टा चलाउछौँ। नयाँ प्रविधिमा लाग्नु र विकास गर्नु आवश्यक छ। तर, प्रविधिको नाममा जनमानसको समय बर्बाद भइरहेको छ। चाहे बालुवा बोक्ने होस या ट्रक चलाउनेको, फेसबुकले समय बिगारेको छ। 

    मानिसले काम नभ्याउने कारणहरू मध्ये फेसबुक तथा सामाजिक सञ्जाल पनि एक कारण हो। जो साधनामा लगाव राख्छन्, उनीहरूलाई २४ घण्टाको समय पनि अपुग छ। अन्य जो असफल छन्, तिनीहरूको संगत नै फेसबुक हो।

    सर म्याडमसँग भेट्दा सबै अभिभावकको एउटै अनुरोध हुन्छ, छोराछोरीको मोबाइल बन्द गर्न पर्‍यो। हामीले भनेको मान्दैनन्, सम्झाइदिनु पर्‍यो। छोराछोरी बिग्रिए। सन् २००४ मा फेसबुक, ०६ मा ट्वीटर, ०१० मा इन्स्टा र २०१६ मा टिकटक शुरू भएको हो। तर, विश्वका अन्य देशको दाँजोमा नेपालमा यी कुराहरूको प्रयोग अधिक छ। जसबाट कामको गुणस्तर र उत्पादकत्त्व खस्केको छ। भान्छामा भात डढ्नेदेखि छतमा पानी भरिएर तालमय पर्ने, सडक दुर्घटना हुने ,पढाइ बिर्गिने, नराम्रो संगत बढ्ने , उत्ताउलो तथा भड्किलो बन्ने, मोटोपना बढ्ने, अखाद्य चिज बस्तुको सेवन प्रयोग हुने, सुगर, प्रेसर र किड्नीको समस्या हुने आदि समस्या हुन्छ। र, चिकित्सकको राय दिन्छन्, एकै स्थानमा लामो समय नबस्नू। त्यसैले सामाजिक सञ्जाल चलाउने सबै जसोमा यो रोग छ, जुन निदान गर्न आवश्यक छ।

    उद्योग र कारखाना नभएर बेरोजगार बढेको देशमा सजिलै हातमा कुरा गर्ने, हेर्ने, देख्ने, सुन्ने सहज साधन भएपछि विचलन हुन नौलो होइन। तर, फाइदाहरू केलाउँदा रोजगारी बढेको छ, प्रचार प्रसार सस्तो पारेको छ र सञ्चार सुधार भएको छ। यसले लाखौँको आम्दानी बढेको छ। हुन त चिनी पनि धेरै खाए तितो हुन्छ रत फेसबुकको प्रयोगले समस्या निम्त्याएको छ।

    फेसबुकबाट बैँक एकाउन्ट ह्याक गर्ने, सूचना चोर्ने र सिस्टम बिगार्ने भइरहेको छ। केही डलर आएको छ, धेरै डलर गएको छ। तर, केही मानिसको व्यापार भएको छ। फोब्सअनुसार विश्वमा मानिसहरू औषत १४५ मिनेट सामाजिक सञ्जलमा समय बिताउँछन्। यो तथ्यांक डरलाग्दो हो। किताब पत्रपत्रिका पढ्ने बानी हटेको छ। मानिस ग्याजेटमा अल्मलिइरहेका छन्। ९९ प्रतिशत मानिस मोबाइलमा फेसबुक चलाउँछन्।

    तसर्थ नियमन जरुरी छ, तर नियमनअघि अनुसन्धान र अध्ययन आवश्यक छ। बन्द गरेर विकृति हटाउने कुरा अव्यवहारिक छ। यसैगरी विकृति हुने जति साधन सबै बन्द गर्ने सोच राखेमा ढुंगे युगमा जानुपर्छ। शासकमा यो चेत कहिले खुल्ला?

    लेखक: अर्जुन मोहन भट्टराई 

  • सम्बन्धित विषय:

  • # अर्जुन मोहन भट्टराई